ad ad

राजनीति


सुन तस्करीको अनुसन्धान राजस्वले मात्रै गरेर पुग्दैन, जाँचबुझ आयोग आवश्यक छ : रवि लामिछाने

सुन तस्करीको अनुसन्धान राजस्वले मात्रै गरेर पुग्दैन, जाँचबुझ आयोग आवश्यक छ : रवि लामिछाने

नेपालखबर
साउन १९, २०८० शुक्रबार १८:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन्। 

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताएका हुन्। 

‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धानले सुरुवात गर्‍यो। ठिक छ प्रशंसै गरौँ अहिलेलाई। तर यो विषयलाई यतिमा मात्रै सिमित राख्नुपर्ने अवस्था रहेन,’ सभापति लामिछानेले भने, ‘किनभने यसमा संगठित अपराध पनि जोडियो। सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो।’

उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए।

‘अन्तरदेशीय अपराध पनि यहाँ देखियो। मिलेमतो, संरक्षण जस्ता कयौँ कसुरहरु यसमा देखिए। अनुसन्धान गर्न कसले गर्ने? के कारणले यत्रो दिनसम्म रोकियो? यो गम्भिर विषय भयो। यही बैठक नबस्नुको कारण प्रमाण लुक्ने सम्भावना, संदिग्धहरु भाग्ने सम्भावना हामीले जानिजानि दिइराखेका छौँ कि?,’ सभापति लामिछानेले भने, ‘यति ठूलो काण्डलाई हामीले किन नजरअन्दाज गर्‍यौँ? म अनुरोध गर्न चाहछु, छानबिन अगाडी बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्‍यो। जाँचबुझ आयोगको आवश्यकता छ, छैन। छलफलका लागि साथीहरुलाई आग्रह गर्न चाहन्छु। आवश्यकता छ जस्तो मलाई लाग्छ।’

सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने पनि बताए। कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालिन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्नसमेत गरे।

‘निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई चाहीँ छानबिन गर्नुपर्ने हो कि होइन? प्रधानमन्त्री भइसकेका मान्छेलाई प्रधानमन्त्री भएका आधारमा छानबिनमै सहभागी नहुनुपर्ने त्यस्तो उन्मुक्तिको पनि कहीँ प्रावधान छ कि? एकदम स्पष्ट रुपमा मैले यो कुरा राख्न चाहेँ।’

उनले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .