ad ad

राजनीति


गठबन्धनमा सामान्य खटपट भए पनि तत्काल सरकार फेरिँदैन : नेता कोइराला

गठबन्धनमा सामान्य खटपट भए पनि तत्काल सरकार फेरिँदैन : नेता कोइराला

फाइल तस्बिर


रासस
भदौ ३१, २०८० आइतबार ११:३१, चितवन

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन्। 

उनले भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’

सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ छ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जानसक्ने अवस्था नभएको जिकिर उनले गरे। 

सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए। उनले भने, ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो। मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’
सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनले बताए। ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ’, उनले भने। 

छिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .