राजनीति


एमाले बागमती अधिवेशन : विवादबीच वर्तमान अध्यक्ष पाण्डेले फिर्ता गरे उम्मेदवारी

एमाले बागमती अधिवेशन : विवादबीच वर्तमान अध्यक्ष पाण्डेले फिर्ता गरे उम्मेदवारी

फाइल तस्बिर


सुनिता विष्ट
असोज ११, २०८० बिहिबार १३:१७, हेटौंडा

उम्मेदवारी घोषणा र  दर्तादेखि नै सुरू भएको विवादबीच वर्तमान अध्यक्ष केशव पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। 

बागमती प्रदेशको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका बहालवाला अध्यक्ष पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन्। 

बुधबार पार्टी कार्यालयमै उपस्थित भए पनि युवा नेता गणेश श्रेष्ठले वारेशमार्फत पाण्डेले अध्यक्षमा मनोनयन तर्दा गराएका थिए। 

श्रेष्ठले बुधबार साँझ ६ बजेर ५० मिनेटमा च्यासलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए।

अध्यक्ष पाण्डेले आफू अध्यक्षको दौडबाट बाहिरिइसकेको नेपालखबरलाई बताएका छन्। 

‘म अहिले अध्यक्षको दौडमा छैन। मैले हिजै फिर्ता लिइसकेको हो’, उनले नेपालखबरसँग भने, ‘अहिले अन्तिम नामवाली टाँस्ने काम हुँदैछ। त्यसपछि मैले कसलाई समर्थन गर्ने भन्ने टुंगो लाग्छ।’

अधिवेशनका प्रचार विभाग प्रमुख महेश कुमार बर्तौलाले पनि पाण्डेले उक्त उम्मेदवारी फिर्ता गरेको जानकारी नेपालखबरलाई दिएका छन्।  

‘पाँच जनाको उम्मेदवारी दर्ता भएकोमा वहालवाला अध्यक्ष पाण्डेले उम्मेदवारी फिर्ता गर्नुभएको छ,’ बर्तौलाले नेपालखबरसँग भने। 

नुवाकोटका पाण्डे अध्यक्ष पदमा दोहोरिन चाहान्थे। तर एमालेको केन्द्रीय नेतृत्वले उनलाई उम्मेदवारी फिर्ता गराएको एमालेका नेताहरुले बताएका छन्।

विवाद
बुधबार एमाले केन्द्रीय कार्यालयस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा रहेका पाण्डेले आफैं उम्मेदवारी दर्ता गर्न पाएका थिएनन्। 

करिब २५ जनाको जुलुससहित उम्मेदवारी दिन पुगेका उनलाई बागमती इन्चार्ज गुरु बरालले फोन गरेर छलफलका लागि बोलाएका थिए। छलफलका क्रममा पाण्डे कार्यालयमै रोकिएपछि सहयोगीमार्फत उम्मेदवारी दिएका थिए। 

गुरु बराल, डोरमणि पौडैल, आनन्द पोखरेल र खेम लोहनीसहितले उनलाई उम्मेदवारी नदिन आग्रह गरेका थिए। तर पाण्डेले अडान छाडेनन्। त्यसपछि उनले अन्तिम समयमा गणेश श्रेष्ठ र सहयोगी राजु दाहालमार्फत उम्मेदवारी दिएका थिए। 

तर निर्वाचन कमिटिका अध्यक्ष डिल्ली मैनालीले भने अन्य चारजनाको मात्रै उम्मेदवारी परेको बताएका थिए। पाण्डेको उम्मेदवारी दर्ताअघि सुरु विवाद फिर्तासम्म पनि देखिएको छ। 

उनलाई आफ्नै कार्यकक्षमा बन्धक बनाएको समाचार पनि बाहिरिएको थियो। तर पाण्डेले बिहीबार बिहान आफूलाई कसैले बन्धक नबनाएको दाबीसहित स्पष्टीकरण सार्वजनिक गरेका छन्।

‘विभिन्न माध्यममा केशव पाण्डेलाई बन्धक बनाइयो भनेर आएको समाचार सत्य होइन’, उनले भने, ‘हामी केही महत्वपूर्ण छलफलमा थियौँ। त्यो मेरो प्रदेश कमिटी (अध्यक्ष) को कार्यकक्षमा भएको भेटघाट हो।’

पाण्डे पछि हटेसँगै अब अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायम भएको छ।

यी चार नेताहरुमा पनि अझै केहीलाई उम्मेदवारी फिर्ता गराउने गरी अहिले एमाले नेतृत्वले छलफल गरिरहेको छ। अन्तिममा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .