ad ad

राजनीति


सिंहदरबार आइपुग्यो वाणिज्यदूत पोखरेलको राजीनामा, थप कारबाही दसैँपछि

सिंहदरबार आइपुग्यो वाणिज्यदूत पोखरेलको राजीनामा, थप कारबाही दसैँपछि

फाइल तस्बिर : वाणिज्यदूत नवराज पोखरेल


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ९:३५, काठमाडौँ

रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको राजीनामा परराष्ट्र मन्त्रालय आइपुगेको छ। पोखरेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको आर्थिक शोषण गरेको, म्यानपावर व्यवसायीबाट घूस खाएको र हुन्डी कारोबार गरेको विवरण नेपालखबरले सार्वजनिक गरेपछि बिहीबार राजीनामा दिएका थिए।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले पोखरेलको राजीनामा प्राप्त भएको पुष्टि गर्दै थप कारबाही दसैँपछि हुने नेपालखबरलाई बताए।

मन्त्रालयका ती अधिकारीले नेपालखबरसँग भने, ‘रोमानियाको प्रकरणले हामीलाई धेरै पाठ सिकाएको छ। राजनीतिक नेतालाई प्रयोग गरी अवैतनिक वाणिज्यदूतजस्तो मानार्थ पद लिने र त्यसको दुरुपयोग गर्ने गरेका यस्ता घटना अन्यत्र पनि देखिएका छन्। अब गम्भीर समीक्षा हुन्छ।’ 

पोखरेलमाथि लागेका आरोपबारे छानबिन गरी अधिकारप्राप्त निकायबाट कारबाहीको प्रक्रिया अघि बढाउन सकिने ती अधिकारीको भनाइ छ।

पोखरेलले नेपाली राहदानी नवीकरणका नाममा एक करोड रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क उठाएको पाइएको छ भने श्रमिकको मागपत्र प्रमाणीकरणका लागि सिफारिस गर्दा उनले काठमाडौँमै विभिन्न व्यक्तिका खातामा घूस जम्मा गर्न लगाएको तथ्य पनि नेपालखबरले सार्वजनिक गरेको थियो। 

हेर्नुहोस् पोखरेलले काठमाडौँमा घूस खाने गरेका केही खाता-

ती अधिकारीका भनाइमा पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा कारबाही चलाउन सक्छ भने विदेशी मुद्रा अपचलनको कसुरमा पनि मुद्दा चलाउन सकिन्छ।

यसका लागि नेपाल राष्ट्र बैंकको सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्नसक्छ। सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकारीको भनाइ छ।

पोखरेल रोमानियाका समेत नागरिक भएकाले त्यहाँको सरकार र युरोपेली आयोगसँग द्विपक्षीय कानुनी सहायता (एमएलए)को माध्यमबाट सूचना आदानप्रदान गरी अनुसन्धान अघि बढाउन सकिने कानुन अधिकृतहरुको राय छ।

उता, जर्मनीको बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्काले पोखरेललाई राहदानी नवीकरणका नाममा उठाएको अतिरिक्त रकम अस्वाभाविक देखिएको भन्दै फिर्ता गर्न निर्देशन दिइसकेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .