ad ad

राजनीति


सुदूरपश्चिममा ओली : बाजेको खिर खाए, निङ्लासैनी मन्दिरको दर्शन गरे

झुलाघाटबाट एमालेको पदयात्रा शुभारम्भ हुने, सुदूरपश्चिमका तीन जिल्ला सदरमुकाममा सभा
सुदूरपश्चिममा ओली : बाजेको खिर खाए, निङ्लासैनी मन्दिरको दर्शन गरे

गोकुल जोशी
मंसिर १३, २०८० बुधबार २२:९, कञ्चनपुर

नेकपा एमालेको मध्य पहाडी लोकमार्गको महाकाली मेची यात्रा उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन्। ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्य पहाडी लोकमार्गको यात्रा गर्दै छ। 

त्यसकै उद्घाटनका लागि अध्यक्ष ओलीसहित शीर्ष नेतृत्वको टोली कैलालीको धनगढीबाट सडकमार्ग भएर बैतडी पुगेको हो। 

चुनावकै झल्को दिने गरी पहाडी क्षेत्र पसेका ओलीलाई विभिन्न ठाउँमा नेता कार्यकर्ताले स्वागत गरेका छन्। पार्टीको झण्डाले ठाउँठाउँ रंगिएका थिए। 

ओली सुदूर पहाडको यात्रामा हरकसैको रोजाइमा पर्ने साहुखर्कको ‘बाजेको खिर’मा झुल्किए। त्यहाँ उनले खिर खाए। 

विसं २०३२ सालदेखि डडेल्धुराको गन्यापधुरा–१, साहुखर्कमा ‘बाजेको खिर पसल’ निरन्तर सञ्चालित छ। स्थानीय शेरबहादुर देउवाले सुदूर पहाडमा सडक विस्तार हुँदा खिर पसल खोलेका थिए।

उनको निधनपछि अहिले छोराले त्यो विरासत धानिरहेका छन्।

चिया पिउँदै बाजेको खिर पसलबाट निस्केर ओली बैतडीको पाटनमा आयोजित सम्मान कार्यक्रममा सहभागी भए।

त्यसपछि निङ्लासैनी मन्दिरको दर्शन गर्न पुगे, ओली। त्यहाँ उनी आरतीमा पनि सहभागी भए। बैतडी सदरमुकाम गोठालापानीमा रात बिताउने ओलीले बिहीबार बिहान पदयात्राको उद्घाटन गर्नेछन्। 

पूर्वप्रधानमन्त्री ओलीसहित एमालेको शीर्ष नेतृत्वको आउजाउलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। 

अध्यक्ष ओली बिहीबार बिहान ९ बजे गोठालापानीबाट झुलाघाटतर्फ जानेछन्। नेपालको पश्चिमी बिन्दु झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेर ओलीसहितको टोली हिँड्नेछ।

बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमालेका नेता दामोदर भण्डारीले बताए। 

झुलाघाटदेखि सुरु हुने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ। 

यात्राका क्रममा एमालेले ठाउँठाउँमा आमसभाको आयोजना गर्नेछ। बैतडीको गोठालापानीमा बिहीबार हुने आमसभालाई ओली सम्बोधन गर्ने तय भएको छ। 

बैतडीमा त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पण, पार्टी कार्यालय उद्घाटनलगायत कार्यक्रममा पनि ओली सहभागी हुनेछन्। 

पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डोटी र अछाममा पनि आमसभाको आयोजना गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .