नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन्।
तेजाव पीडित मुस्कान खातुनको सत्यकथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सहभागी हुने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको ब्याख्या गरिनुलाई ओलीले हाँस्यास्पद भनेका हुन्।
‘दरबारमा राजा वीरेन्द्र र रानी ऐश्वर्यासहितलाई तत्कालीन युवराज दीपेन्द्रले आफैं मरेपछि गोली हाने? राजा हुन लागेको एउटा मान्छेले त्यसरी आफ्नो परिवार नै सखाप पार्छ, मार्छ?’, ओलीले प्रश्न गर्दै भने, ‘दरबारभित्र अगाडिबाट उसैले गोली हान्ने, पछाडिबाट पनि उसैले गोली हान्ने? यस्तो पनि कहीँ हुन्छ?’
ओलीले तत्कालीन अवस्थामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई पनि हाँस्यास्पद भने।
‘अनि एकैजना मान्छेले तीनवटा राइफल र एउटा पेस्तोल बोकेर हिँड्न सक्छ? यस्ता कुरा पनि पत्याउने’, ओलीले अगाडि भने, ‘हत्याकाण्डका बेला पछाडिबाट लखेट्ने पनि उही (दीपेन्द्र) छ, अगाडिबाट लखेट्ने पनि उही छ। भर्याङ चढ्दा पनि उसैले गोली हानेर टाउको उछिट्याउँछ। भर्याङबाट झर्दा पनि उसैले गोली हान्छ। यस्तो पनि कहीँ हुन्छ दुनियाँमा?’
ओलीले जेठ १९ गतेको उक्त घटनाको ७ दिनपछि तत्कालीन अवस्थामा गठित छानबिन समितिबारे पनि प्रश्न उठाए।
‘जेठ १९ गतेको घटनामा २६ गते जाँच आयोग दरबारभित्रको घटनास्थलमा जाँदा पानी परिरहेको थियो। चार पाँच दिनदेखि काठमाडौंमा पानी परिरहेको थियो। त्यसबेला दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा एउटा ओभानो टोपी तैरिरहेको थियो’, उनले भने, ‘चारपाँच दिनदेखि पानी परिरहेको ठाउँमा ओभानो अवस्थामा दीपेन्द्रले लगाएको भनिएको टोपी भर्खर राखेको जसरी भेटियो। त्यो उत्तानो परेर रहेको छ, ओभानो अवस्थामा। यस्तो पनि नाटक हुन्छ? त्यस टोपीमा एकथोपो पानी पनि थिएन, भिजेको थिएन।’
दरबार हत्याकाण्डबारे ज्ञानेन्द्र शाहले शनिबार वीरगन्जमा यसो भनेका थिए
दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको पनि ओलीले दाबी गरे।
‘यहाँ (काठमाडौंमा) दरबार हत्याकाण्ड भइनसक्दै दीपेन्द्रले प्रेमकहानीका कारण परिवारकै हत्या गर्यो भनेर विश्वभर भ्रम बाँडिएको थियो’, उनले भने, ‘त्यो एउटा भयानक षड्यन्त्र थियो। त्यस षड्यन्त्रले तत्कालीन राजा, रानी, युवराज अधिकराजकुमार र अधिकारजकुमारीसहित वीरेन्द्रको परिवार नै सक्यो, वंश नै नासियो। वीरेन्द्र र रानीसहित सबै छोराछोरी मारिइसकेपछि त्यही बेला राजतन्त्र समाप्त भयो।’
उनले राजाको जेठो छोरो मात्रै राजा हुने पनि स्मरण गरे। यस्तोमा वीरेन्द्रका भाइ ज्ञानेन्द्रले राजाको हैसियत नै पाउन नसक्ने ओलीले बताए।
‘राजाको जेठो छोरो राजा हुन्छ। छोरीसमेत मारिइसकेपछि उसको वंश नै सकियो’, उनले भने, ‘त्यतिबेलाको सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई राजगद्धीमा राखेर सजाउने काम भयो। ज्ञानेन्द्र शाह राजा नै होइनन। बाहुनले बाहुन भनेर टपरीमा एउटा कुशको बाहुन राख्छन्। त्यस्तै उनी पनि कुशका राजा मात्रै हुन्।’
राजतन्त्र नै समाप्त भइसकेकाले अब ज्ञानेन्द्र शाहले बोलेका कुनै कुराले अर्थ नराख्ने पनि ओलीले बताए। ‘राजतन्त्र दरबार हत्याकाण्डसँगै समाप्त भइसक्यो। ज्ञानेन्द्र शाह कहिले पनि राजा भएनन्। यस्ता कुरामा के बहस गरिरहनू’, ओलीले अगाडि भने।
त्यसबेला राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अर्कै भएकाले ज्ञानेन्द्र शाह राजगद्धीमा पुग्न सफल भएको पनि उनले बताए।
दरबार हत्याकाण्ड षड्यतन्त्र भएकैले एमालेका तत्काली महासचिव माधवकुमार नेपाललाई छानबिन समितिमा नबस्न आफूहरूले भनेको बताए। ‘हामीले त्यसबेलाका हाम्रा (एमाले) महासचिव माधवकुमार नेपाललाई यो ‘ड्रामा’मा सामेल नहौँ भनेका थियौँ’, उनले अन्तिममा भने।
Shares
प्रतिक्रिया