ad ad

राजनीति


देश ‘मल्टी अर्ग्यान फेलियर’को बाटोमा पुगिसक्यो : विष्णु पौडेल

देश ‘मल्टी अर्ग्यान फेलियर’को बाटोमा पुगिसक्यो : विष्णु पौडेल

नेपालखबर
माघ २२, २०८० सोमबार १९:५८, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताएका छन्। 

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्रै होइन, गम्भीर समस्यामा परेको बताए।

‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ’, पौडेलले भने। 

पौडेलले अहिले देश मल्टी अर्ग्यान फेलियरको अवस्थामा पुगेको टिप्पणी गरे। ‘जता हेर्‍यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो’, उनले भने। 

शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताए।

यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उनले प्रष्ट पारे। एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताए। 

अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकोले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उनले आलोचना गरे।

यस अर्थमा एमालेको आवाज र आन्दोलन थप सशक्त हुने उनले बताए। सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिए। 

अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताए। अन्तराष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गरे।

मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताए। 

जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ । ‘जनताको आवाज सुन्नै पर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ’, उनले भने। 

प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने पौडेलले बताए। त्यसको लागि सञ्चार क्षेत्रले एमालले साथ दिनु पर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .