राजनीति


कुटाकुटपछि एमाले धादिङको अधिवेशन अनिश्चित, नेतृत्वबारे केन्द्रले निर्णय लिने

कुटाकुटपछि एमाले धादिङको अधिवेशन अनिश्चित, नेतृत्वबारे केन्द्रले निर्णय लिने

फाइल तस्बिर


सुनिता विष्ट
माघ २३, २०८० मंगलबार १४:२८, हेटौंडा

नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ। आइतबार बन्द सन्त्रका क्रममा झडप भएपछि रोकिएको अधिवेशन अनिश्चित बनेको हो।

अधिवेशनमा भएको कुटाकुटको विषयमा छलफल गर्न आइतबार नै जिल्ला अध्यक्ष भूमि त्रिपाठीसहितका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएका थिए। उक्त छलफलमा मिलेर जाने र मंगलबार (आज) बाट अधिवेशन पुनः सुचारु गर्न निर्देशन दिएका थिए। 

तर दुई गुटमा परिणत धादिङमा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल गुटका खेम लोहनी लगायत नेताहरूले अधिवेशन कार्यक्रम अघि बढाउन नदिएको जिल्लाका नेताहरूले बताएका छन्।

'कुटाकुटको विषयमा छानबिन नगरी अधिवेशन अघि बढ्न नदिने अडान लिएपछि अधिवेशन अनिश्चित बनेको छ', ती नेताले नेपालखबरसँग भने। 

यता, अलपत्र बनेको अधिवेशनको विषयमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा हाल बैठक भइरहेको जिल्ला अध्यक्ष भूमि त्रिपाठीनिकट स्रोतले जानकारी दियो।

स्रोतका अनुसार अब नेतृत्व टुंग्याउने विषयमा केन्द्रले निर्णय लिन सक्ने छ। 

शुक्रबारबाट सुरु भएको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिती सिर्जना भएको थियो।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्षका नेताहरू विरोधमा उत्रिएका थिए।

जिल्ला कमिटीले निर्णय नै नगरेको भन्दै सुरु भएको बिवाद उत्कर्षमा पुगेपछि कुटाकुटको स्थिती सिर्जना हुँदा बैठक स्थगित भएको थियो। 

बन्दसत्र सुरु हुनुअगावै अधिवेशनस्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति सार्वजनिक गरेका हुन्। 

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको विज्ञप्तिमा अधिवेशनस्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ।

त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको भन्दै सोमबारसम्मलाई अधिवेशन स्थगित भएको विज्ञप्ति ढुंगेलले सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .