नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई प्रहार गरेर सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन्।
संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा बर्तौलाले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिने हिसाब गरेर बसेको बताए।
रविलाई आक्रमण गरेर आउन सक्ने अंक गणितका आधारमा कांग्रेसले संसद्मा आफ्ना गतिविधि देखाइरहेको उनले बताए।
बर्तौलाले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भनिरहेको बताउँदै छानबिन र अनुसन्धानले दोषी ठहराएमा कसैलाई पनि उम्किन दिनु नहुने बताए।
‘रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिनाभित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ’, उनले भने, ‘अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्ने छैन। कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुने सोच्नु हुँदैन। यो सरकारलाई उहाँहरूले २८ दिनको म्याद दिनुभएको छ।’
Shares
प्रतिक्रिया