ad ad

राजनीति


ओलीले भने : प्रधानमन्त्री पद धारामा पानी थाप्न बसे जसरी पालै पालो लिने होइन

ओलीले भने : प्रधानमन्त्री पद धारामा पानी थाप्न बसे जसरी पालै पालो लिने होइन

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८० बिहिबार १९:३८, काठमाडौँ

प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक वृत्तमा अराजनीतिक सोच बढेकोमा चिन्ता जनाएका छन्। 

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइ राख्दै ओलीले राजनीति आलोपालो गरेर पद प्राप्त गर्न नगरिने प्रष्ट पारेका हुन्।

‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ’, ओलीले भनेका छन्।

राजनीति धारामा पानी थाप्न पालो बस्ने जस्तो विषय नभएको ओलीले उल्लेख गरे।

‘राजनीति अहिले तपाईंको पालो, त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन’, ओलीले लेखेका छन्।

नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्ने उनले प्रष्ट पारेका छन्।

यस्तो संस्कार बसाएर मात्रै राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिने ओलीको धारणा छ।

‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ। प्रश्न सोधिन्छ–तपाईंको पालो कहिले, उहाँको पालो कहिले?’, ओलीले लेखेका छन्।

पछिल्लो समय गत फागुन २१ गते बनेको नयाँ गठनबन्धनमा पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपालले पालैपालो प्रधानमन्त्री खाने सहमति भएको समाचार आइरहेका बेला उनले यस्तो बताएका हुन्। 

एमाले राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेको उनले स्पष्ट पारेका छन्।

‘राजनीतिलाई गुण र दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलोपालो वा तेरो मेरोमा आधारित रहेर होइन’, ओलीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .