ad ad

राजनीति


रविविरुद्ध रमेश खरेलको त्यो आक्रोश, जसले रास्वपा छोड्न बाध्य बनायो

खरेलले रविकै शैलीमा भनेका थिए– सहकारी ठगीको आरोप छ, तपाईंले उन्मुक्ति पाउनुहुन्न
रविविरुद्ध रमेश खरेलको त्यो आक्रोश, जसले रास्वपा छोड्न बाध्य बनायो

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार २१:१७, काठमाडौँ

गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएका रमेश खरेलले वर्ष दिन नपुग्दै पार्टी छाडेका छन्।

खरेलले एक साताअघि एक टेलिभिजन कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेका थिए। गृह मन्त्रालय लिएर रविले अनैतिक कार्य गरेको खरेलको टिप्पणी थियो।

त्यसपछि उनलाई रास्वपाले रविको आलोचना गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ दिनुभन्दा बरु पार्टीबाटै राजीनामा दिन्छु भनेर उनले ईमेलमार्फत पार्टी छाडेको पत्र पठाएका हुन्। खरेल नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन्।

स्पेस फोरके टेलिभिजनको कार्यक्रम ‘जनता जनार्दन’ चलाइरहेका खरेलले सभापति लामिछानेविरुद्ध सहकारी ठगीको उजुरी रहेकोले मन्त्री पदमा बस्न नहुने बताएका थिए।

‘तपाईंले पनि यत्तिकै उन्मुक्ति पाउनुहुन्न, प्रश्न त तपाईंमाथि पनि छ नि! गृहमन्त्रीज्यू, सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो,’ खरेलले उक्त टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो। जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने, त्यसकै कुर्सीमा आसीन हुनु मिल्दो कुरा पक्कै थिएन। भइहाल्नुभयो, कुरा अर्कै भयो। तपाईं जुन दिन अनुसन्धानको पवित्र अग्निमा होमिँदै शुद्ध भएर निस्कनुहुन्छ, त्यसपछि तपाईंले गर्नुभएका यस्ता कर्मलाई स्याब्बास भनौँला। तर, गृहमन्त्रीको कुर्सीमा होइन, बाहिर रहेर।’

खरेलले निकै आक्रोशित मुद्रामा रविविरुद्ध अभिव्यक्ति दिएको सुनिन्छ। त्यसका लागि उनले नेपाली उखानको सहारा पनि लिएका छन्। 

‘एउटा भनाइ छ। सेवा गरे मेवा मिल्छ। तर यहाँ त यिनले सेवा होइन, ठगी गर्छन्। तस्करी गर्छन्, कमाउ धन्दा गर्छन्। यति गर्ने हिम्मत भएपछि यिनीहरूलाई सुनको डल्ला मिल्छ, पैसाको बिटो मिल्छ।’

कार्यक्रमको सुरुबाटै सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल मन्त्री बनेकोमा रमेशले आपत्ति जनाएका छन्। उनले लामिछानेमाथि वैकल्पिक शक्तिका नाममा जनता झुक्याएको आरोप पनि लगाएका छन्। 

‘मिसन ०८४ को घाँस हालेर जनताको अपमान गरी स्याल बनेर लुसुक्क सिंहदरबार छिरेको छ रास्वपा,’ उनी भन्छन्, ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै वैकल्पिक शक्तिको खुट्टी पनि देखिइसकियो। सत्ता र शक्तिको भक्तिमा लीन देखियो रास्वपा पनि।’

उनले रवि लामिछाने र डोलप्रसाद अर्याल मन्त्री बन्नै नहुने तर्क पटकपटक दोहोर्‍याएका छन्।

‘फेरि अवस्था कति लाजमर्दाे छ भने विभिन्न आरोप र उजुरी परेका, राज्यलाई अनुसन्धानमा सघाउनुपर्ने रवि लामिछानेले आफैं गृहमन्त्रीको ताज लगाएर मन्त्रालयमा राज गरेका छन्। गृह नै चाहिनुपर्ने?,’ उनले अझै भनेका छन्, ‘ल ठिकै छ, गृह नै लिने भए पनि अर्काे नेतालाई जिम्मा दिएर अनुसन्धानको पवित्र अग्निमा होमिएर निस्किएको भए के बिग्रिन्थ्यो?

उनले डीपी अर्यालबारे प्रश्न उठाएका छन्, ‘म्यान पावर कम्पनीमा जोडिएर यसअघि नै विवादित बनेका डीपी अर्याललाई नै चाहिने श्रम तथा रोजगार मन्त्रालय? जापानले कामदार मागिरहेको अवस्थामा तपाईंलाई फेरि यही मन्त्रालय चाहिने?’

अनुसन्धानमा रहेका व्यक्ति नै स्वार्थ बाझिने मन्त्रालयमा गएर गलत गरेको बताउँदै उनले ‘जनताले यति कुरा नबुझ्लान र?’ भनी प्रश्न गरेका छन्।

रमेश खरेल रास्वपामा प्रवेश गर्ने बेला रवि लामिछानेसँग

खरेलले वैकल्पिक शक्तिलाई निमोठ्ने कार्यमा रवि लागेको भनेका छन्। उनले चेतावनीको भाषामा अगाडि थपेका छन्, ‘जे होस्, वैकल्पिक राजनीतिको सम्भावनालाई आफ्नो राजनीतिक स्वार्थमा तेजोबध गर्ने अधिकार तपाईंलाई छैन। नत्र परिणामबारे तपाईं आफैं जानकार हुनुहुन्छ।’

‘यतिचाहिँ बुझ्नुहोला–भनाइ र गराइ नमिल्दा दल र नेताहरूको के हविगत हुन्छ भनेर', उनले अगाडि भनेका छन्, 'खै! भन्छन् राजनीतिमा जे कुरा पनि जायज छ? छैन, विल्कुलै छैन। देश र जनताका लागि होइन।’ 

खरेलले वैकल्पिक शक्तिको नाममा रविले रवीन्द्र मिश्र र डा. बाबुराम भट्टराईको बाटो समातेको टिप्पणी गरेका छन्।

‘अस्थिरता, विकृति, विसंगति र भ्रष्टाचारले थिलथिलो बनाएको राजनीतिप्रति वाक्क दिक्क भएका जनतासामु धिपधिप बल्दै गरेको वैकल्पिक शक्तिको ज्योतिमाथि हुण्डरी नचलाउनुस् रविजी,’ उनले थपेका छन्, ‘तपाईंलाई हेक्का छ–हिजो सञ्चारकर्ममा रहँदा नेताले बोलेका काला कुरा दोहोर्‍याईदोहोर्‍याई देखाएझैँ, नेताहरूको प्रवृत्तिबारे नेताहरूले बोलेका कुरा अहिले जनताले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। यसलाई रमाइलोका रूपमा होइन, जनताको आक्रोशमिश्रित प्रश्नका रूपमा बुझ्नुभयो भने तपाईंलाई दिगो राजनीतिक लाभ होला रविजी।’

‘उज्ज्वल थापा (विवेकशील पार्टीका संस्थापक)ले रोपेको वैकल्पिक शक्तिरूपी भरोसाको टुसा साँढेले करप्पै पारेझैँ कहिले रवीन्द्र मिश्र, कहिले डा. बाबुराम भट्टराईले आ-आफ्नै ठाउँबाट निमोठे। अब तपाईं पनि त्यही लाइनमा रविजी?’

रमेश खरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको राजीनामापत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .