ad ad

राजनीति


पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ : प्रचण्ड

‘माओवादीलाई घेरा हाल्न सम्भव छैन, अहिले पनि नेतृत्व हाम्रो नै छ’
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ : प्रचण्ड

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १९:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने र मनोनयन प्रथा अन्त्य गर्ने बताएका छन्।

माओवादीनिकट विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा मनोनयन प्रथाको अन्त्य गर्ने दाबी गरेका हुन्।

अनेरास्ववियु (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए। 

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन। विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ।’

उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने धारणा पनि राखे। 

‘हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ। पार्टी क्रमशः बलियो हुँदै गएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ। त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो।’ 

माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भन्नुभयो, ‘कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि? तर यथार्थ त्यस्तो हुँदैन। हेर्दै जानुहोला, माओवादी नै निर्णायक हुन्छ। हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ।’

आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा रहेको दाबी गरे। उनले थप भने, ‘माओवादीलाई अपदस्थ गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन। अहिले पनि नेतृत्व हाम्रो नै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .