ad ad

राजनीति


झलनाथको सहयोग लिएर पार्टी अध्यक्षमा माधवसँग भिड्ने तयारीमा घनश्याम

झलनाथको सहयोग लिएर पार्टी अध्यक्षमा माधवसँग भिड्ने तयारीमा घनश्याम

सागर न्यौपाने
असार ११, २०८१ मंगलबार १९:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको नेतृत्वको लागि तीन नेताले दौडधुप गरिरहेका छन्। वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अध्यक्ष पदका आकांक्षी हुन्। 

तर, नेताहरूको एउटा समूह सहमति गरेर नेतृत्व छान्ने प्रयासमा छ। त्यसकै लागि अध्यक्ष नेपालले असार ९ गते सम्मानित नेता खनालसँग छलफल गरेका थिए। तर, सहमति जुटिसकेको छैन। 

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आन्तरिक संवाद जारी रहेको र सहमतिको विन्दुमा नपुगेको बताए।

‘तीनजनाले अध्यक्षको दाबी छोड्नुभएको छैन,’ उनले भने, ‘एकाथरी कार्यकर्ता सहमति गर्न दबाब दिइरहेका छन्। अर्काथरीले सहमति गर्नुहुँदैन भनेर पनि प्रेसर बढाइरहेका छन्।’ 

देशभरबाट १८७० प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन्। खतिवडाका अनुसार त्यसमा मनोनयन गर्दा एक सय प्रतिनिधि थपिन सक्छन्।

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन हुँदैछ। बन्द सत्र असार १७ गते हुने उनले जानकारी दिए।

महासचिव बनेको १५ महिनामै भूसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। अहिलेसम्म उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्। 

अध्यक्ष नेपाल र सम्मानित नेता खनालले नेतृत्वमा दाबी गरिसकेका छन्। 

‘भूसालले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ उनीनिकट एक नेताले नेपालखबरसँग भने। 

तर, देशभरबाट छानिएका प्रतिनिधि हेर्दा एक्लै चुनाव जित्न नसकिने उनको विश्लेषण छ। त्यही भएर सकेसम्म माधव र झलनाथ दुवैलाई मिलाउने प्रयत्नमा उनी छन्।   

यदि त्यो सफल नभए सम्मानित नेता खनालको साथ लिएर चुनाव लड्ने उनको आकांक्षा छ। 

‘उहाँको (भूसाल) चाहना दुवै नेतालाई साथ लिनुपर्छ भन्ने छ। एक चरण नेपाल–खनाल दुवै नेतासँग कुरा हुन्छ। तर, माधव कमरेडको साथ नपाए झलनाथ कमरेडको साथ लिनुपर्छ भनेर लाग्नुभएको छ,’ उनीनिकट ती नेताले थपे।

सम्मानित नेता खनालले पनि भूसालले मिलेर जाने प्रस्ताव राखेको घुमाउरो रूपमा स्वीकारे।

‘घनश्यामजीको अलिअलि माग त छ तर त्यस्तो केही निर्णय र टुंगो भएको छैन,’ उनले भने, ‘कुराकानी गरिराखेकै छौँ।’ 

तर, आफै अध्यक्षको दाबेदार भएकोले घनश्यामलाई छाड्नेबारे खनालले निर्णय गरेका छैनन्।

‘अहिलेसम्म बाहिर आएको कुरा माधव र मबीचमै प्रतिस्पर्धा हुन्छ भन्ने हो,’ उनले थपे, ‘कार्यकर्ताहरूले विभिन्न भूमिका खेलिरहनुभएको छ, अन्तिमसम्म के हुन्छ हेर्न बाँकी छ।’

असार ९ गते झलनाथ खनालले अध्यक्ष माधव नेपालसँग कोटेश्वर निवासमै पुगेर छलफल गरेका थिए। तर, कुनै सहमति नभएको उनी दाबी गर्छन्। 

‘महाधिवेशनका बारेमा कुरा भयो, उहाँको कुरा सुनेँ, मेरो बारेमा कुरा गर्ने समय नै भएन,’ खनालले भने। 

एकीकृत समाजवादीको २१ सदस्यीय सचिवालय र ३ सय सदस्यीय केन्द्रीय समिति रहनेछ।

प्यानल नै बनाएर चुनाव लड्ने बारेमा भने भूसालले निर्णय नगरिसकेको उनी निकट नेताहरू बताउँछन्।

शक्ति संघर्षमा माधवलाई साथ दिएका घनश्याम
वैचारिक नेताका रूपमा चिनिएका भूसाल कुनै समय एमालेमा पनि लोकप्रिय नेता मानिन्थे। उनी २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपमहासचिव निर्वाचित भए।

तर, २०७७ पुस ५ मा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि एमालेभित्र शक्ति संघर्ष चर्कियो।

माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता ओलीको असंवैधानिक कदमको विरोधमा उत्रिए। त्यसबेला भूसालले माधवलाई साथ दिए। २०७८ साउन ९ गते नेपाल–खनालले एमालेबाट व्रिद्रोह गरेर एकीकृत समाजवादी बनाए। तर, भूसाल एकीकृत समाजवादीमा आएनन् एमालेमै बसे।  

एमालेमा पनि अध्यक्ष ओलीसँग उनको सम्बन्ध तिक्ततापूर्ण रह्यो। २०७८ मंसिरमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा उपाध्यक्ष उठे पनि पराजित भए। 

त्यसपछि २०७९ असोज २३ गते भूसालले एमाले परित्याग गरे। २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बने।

जबकि नेपालसहितको कांग्रेस–माओवादी गठबन्धनले भूसाललाई समर्थन दिएको थियो। तर, एमालेका छविलाल विश्वकर्मासँग हारे।

त्यसको डेढ महिनापछि २०७९ पुस २९ मा उनी एकीकृत समाजवादी प्रवेश गरे। त्यसको भोलिपल्टै उनलाई सचिवालय सदस्य बनाइयो। २०७९ चैत ५ गते भूसाल एकीकृत समाजवादीको महासचिव बनाइए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .