सत्ता गठबन्धन फेरबदलको तयारी भएयता राजनीतिक दलहरूबीच गीतमार्फत दोहोरी चल्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउन बालुवाटार पुगेको बेलादेखि सुरु भएको गीतका भाकाहरूले संसद्मा पनि प्रवेश पाएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले गीतमार्फत नै प्रचण्डलाई जवाफ दिएका थिए।
प्रचण्डले फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले बोलको गीत गाएका थिए।
उक्त प्रसंग उप्काउँदै सांसद गैरेले बरू, ‘उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि’ भन्दै कटाक्ष गरे।
गैरे बोलेको केहीबेर पछि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ दिए।
‘कुन्ती मोक्तानले एउटा गीत भन्नुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर। म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर। रे ग रे सा सा रे ग रे सा...,’ उनले भने।
साथै, उनले संसदीय राजनीतिमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया भएको पनि बताए।
‘संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक हो। मिल्नेहरूको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरू कुर्सी परिवर्तन हुन्छ। यो सामान्य हो,’ उनले भने, ‘संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वमा एडिच्युडमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
Shares
प्रतिक्रिया