नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोमबारको प्रतिनिधि सभा बैठकमा एउटा नीति कथा सुनाए।
उनले एकजना पण्डितले गंगा नदीको किनारमा बसेर ध्यान गरिरहँदा गोही पुगेको र त्यसले पछि पण्डितलाई झुक्याएर आफ्नो ‘आहार’ बनाएको कथा सुनाएका थिए।
खासमा, गत फागुन १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य हुँदा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जील्ल हुन पुगेको प्रसंग जोड्नका लागि यो कथा सुनाएका हुन्।
कथामा, पण्डितलाई मोतीको दानाको लोभ देखाएर गोहीले नदीमा पुर्याएर आहार बनाएको सुनाए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सोही कथाको गोहीले जस्तो नदीको किनारमा पुर्याएर आहार गरेकोजस्तो हुनसक्ने पनि आशंका गरे।
‘अब एउटा पण्डित त स्वर्ग गए पनि नर्क गएपनि सँगै जाऔँला भनेको नर्कमा छोडेर गएपछि उनी जिल्ल परिहाले। अब अर्को पण्डित कतै गोहीको त्यो नदीमा किनारबाट जाँदा त्यो भुल्कामा परेर ज्यान गुम्ला, याद गर्नुहोला,’ उनले भने।
कथा भनिरहेकैबीचमा उनले पण्डितलाई ‘मूर्ख’ भनेका थिए।
बाहुनलाई ‘मूर्ख’ भनेपछि नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नियमापत्ति गरे।
‘उहाँले बाहुनलाई मूर्ख भन्नुभयो, म बाहुनको छोरो त्यसकारण मेरो आपत्ति छ,’ उनको नियमापत्ति थियो।
सभामुख देवराज घिमिरेले विषयलाई सामान्य बनाए। ‘उहाँले त्यहाँको मूर्खलाई भनेको हो, सबै बाहुनलाई भनेको होइन। त्यसैले अगाडि जाऔँ,’ उनले भने।
त्यसपछि सांसद घर्तीले विषय प्रसंगले अन्यथा हुन गएकोमा क्षमा मागे।
यस्तो छ उनले संसद्मा सुनाएको नीतिकथाः
गंगा नदीको किनारमा एकजना पण्डितले बिहानै उठेर स्नान गरेर ध्यानमग्न भएका रहेछन्। त्यसबेला एउटा गोही आहारको खोजीमा आएको रहेछ। त्यसले पण्डितलाई देख्यो। उनी अग्लो ठाउँमा थिए। खाना त सकेन। तर, पण्डितलाई खुसी पार्नका लागि उसले मोतीका दानाहरू छर्कियो। पण्डितको ध्यान खुल्यो। मोतीका दानो देखेपछि यो कहाँबाट आयो भनेर उनले छामे। यताउता कसैले देख्छ कि भनेर हेर्न थाले। तर, गोहीले त्यसलाई केही नगर्नुस् यहाँ तपाईं र म मात्रै छौँ। कसैले देखेको छैन भन्यो। खल्तीमा राख्नुस् भन्यो। अरु पनि चाहिन्छ भने म दिन्छु भन्यो।
पण्डितले तपाईं को हो? किन यस्तो? भनेर सोधेपछि म त्रिवेणी धाममा तिर्थ जान खोजेको थिएँ, बाटो बिराएर यहाँ आएको छु, बरू मलाई तपाईंले बाटो सिकाइदिनुहुन्छ भने सिकाइदिनुस् भनेपछि। पण्डितले बाटो यहाँबाट भनेर हुँदैन टाढा छ भनेछन्। त्यसमा पनि केही पर्दैन भनेर, म तपाईंलाई बोक्छु मेरो काँधमा बसेर तपाईं हिँड्नुस्, बाटो सिकाउँदै गर्नुस् भनेछ। पण्डितले अरु धेरै दाना पाउने लोभले गोहीको काँधमा चढे। नदीमा जाने बेलामा ठूलो भुल्काहरू आए। आउनेबेलामा भुल्काका कारणले पण्डितजी डराउनुभयो। त्यसपछि गोही हाँस्यो। तर, मूर्ख बाहुन। मैले त मेरै स्वार्थका लागि लिएको थिएँ भनेर पण्डितले उसको आहारा गर्यो।
म के मात्रै कामना गर्छु भने, अब एउटा पण्डित त स्वर्ग गए पनि नर्क गएपनि सँगै जाऔँला भनेको नर्कमा छोडेर गएपछि उनी जिल्ल परिहाले। अब अर्को पण्डित कतै गोहीको त्यो नदीमा किनाराबाट जाँदा त्यो भुल्कामा परेर ज्यान गुम्ला, याद गर्नुहोला। म यति मात्रै कामना गर्न चाहन्छु।
.
Shares
प्रतिक्रिया