ad ad

राजनीति


सरकार गठनको विषय अदालतसम्म पुग्ने प्रचण्डको संकेत

प्रचण्डको गुनासो : सम्झौता गर्दै गरेको फोटो देखाउँदा पनि ओलीले पुरानो फोटो होला भन्नुभयो
सरकार गठनको विषय अदालतसम्म पुग्ने प्रचण्डको संकेत

सागर न्यौपाने
असार २६, २०८१ बुधबार २१:५७, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको विषय अदालतसम्म पुग्नसक्ने संकेत गरेका छन्। बुधबार (असार २६) सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसमा राष्ट्रपतिको निर्णयले परिस्थिति कता जाने भन्ने टुंगो लाग्ने बताए।

‘सरकार गठन कुन धारा अनुसार हुन्छ भन्ने प्रश्न उठेको छ, राष्ट्रपतिले धारा ७६ को (२) पनि भन्नुभएको छैन, ७६ (३) पनि भन्नुभएको छैन, फेरि यो राष्ट्रपतिकै निर्णयमा भर पर्ने विषय रहेछ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘उहाँ कानुनविद्सँग परामर्शमै हुनुहुन्छ।’

कांग्रेस–एमालेले धारा ७६ (२) अनुसारकै सरकार बन्ने दाबी गरिरहेका छन्। तर, प्रधानमन्त्रीले विश्वासको मत नपाए सरकार गठनको प्रक्रिया धारा ७६ (३) मा जाने माओवादीको भनाइ छ। 

यसमा कानुनविदको राय पनि विभाजित छ।

‘एमाले अध्यक्ष केपी ओलीले दिएको धोकाको संवैधानिक रूपमा प्रतिवाद गर्न भोटिङ नै गराएर विश्वासको मत लिइन्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक माओवादी सांसदले नेपालखबरसँग भने, ‘भोटिङमा लग्दा हामीलाई राजनीतिक रूपमा फाइदै गर्छ। एउटा भोलिका लागि संघर्षको आधार बन्छ। चुनाव गरेर परीक्षण गराएपछि ७६ (३) मा जानको लागि राष्ट्रपतिलाई पनि बल पुग्छ।’

एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। उनले यही २८ गते संसदमा विश्वासको मत लिँदैछन्। गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल एमाले नहुँदा अब उनलाई कति मत पर्छ यकिन छैन।

यद्यपि, बुधबार बसेको दलको बैठकले संसदमा रहेका सबै राजनीतिक दलसँग मत माग्ने निर्णय गरिसकेको छ।

सांसद माधव सापकोटाले भने, ‘संविधान र परिवर्तनका पक्षमा रहेका दलसँग विश्वासको मत पनि माग्छौँ।’

पछिल्ला राजनीतिक घटनाक्रमबारे चर्चा गरेका प्रचण्डले कांग्रेस–एमाले सम्झौता भएपछि देउवा र ओलीसँग संवाद नभएको बताए। उनले ओलीले भ्रमपूर्ण षडयन्त्र गरेको सविस्तार सुनाए। असार १७ गतेको सो सम्झौता भएको खबर पनि ओली होइन, देउवाबाट पुष्टि गर्नुपरेको उनले सुनाए।

१७ गते मध्यराति सम्झौतामा हस्ताक्षर गरेका ओली १८ गते बिहान प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

‘१८ गते बिहान भेट हुँदा पनि केही भएको छैन भन्नुभयो, मैले फोटो पनि देखाएँ। ओलीजीले त यस्तो भएको आइसक्यो र? पुरानो फोटो होला भन्नुभयो,’ उनले बैठकमा भने, ‘सोधखोज गर्दा पनि हैन कि हैन भनेर टार्नुभयो। ओलीजीले मसँगको भेटमा कुनै कुरा नभनेपछि मैले आफैँ शेरबहादुरजीलाई फोन गरेर बालुवाटार बोलाएँ तर, उहाँ त सबै सहमति भइसक्यो ‘सरी’ भन्नुहुन्छ।’

अन्तिमसम्म वाम गठबन्धन जोगाउने कोसिसमा आफू लागेको उनको भनाइ छ।

‘तपाईंलाई प्रधानमन्त्री नै बन्नुछ भने सहजै भन्नु न त, नदिने कुरा छैन,’ प्रचण्डले ओलीलाई अन्तिमसम्म राखेको प्रस्ताव खोल्दै भने, ‘प्रधानमन्त्री लिनुस् तर गठबन्धन नटुटाउनुस् भन्दा पनि मान्नुभएन। धोका दिनुभयो।’

प्रचण्डले आफुले वाम गठबन्धन हुँदै पार्टी एकतासम्मको तयारी गरेर अगाडि बढेको तर ओली बीचमै कांग्रेससँग मिल्न गएको बताए। 

‘ओलीजी आफै माधव नेपालजीको निवासमा पुगेर कुरा गरेर, कन्भिन्स गरेर गठबन्धन बनाएकोले विगतका कमजोरी रियलाइजेसन गर्नुभयो होला भनेर म पनि विश्वासमा परेकै हो तर, धोका दिनुभयो,’ प्रचण्डको भनाइ थियो। 

माओवादी केन्द्रका सांसदहरूलाई ओलीले धोका दिएको बताएका प्रचण्डले त्यसपछि प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि देउवा पछि हटेको सुनाए।

‘मेरो बचनबद्धता तोडिँदैन, मैले ओलीजीसँग हस्ताक्षर गरिसकेँ, म त्यो पूरा गर्छु भनेर देउवाले भन्नुभयो,’ उनले प्रचण्डको भनाइ उधृत गरे, ‘अहिले देउवाजीले मान्नुभएको छैन। उहाँ बाठो हुनुहुन्छ। भोलि अदालतमा मुद्दा पर्छ अनि के के हुन्छ हुन्छ। त्यही भएर पनि देउवाले नमान्नु भएको हुनसक्छ।’

यसअघि ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि सर्वाेच्च अदालतले २०७८ असार २८ मा त्यसलाई असंवैधानिक भन्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणकै कारण कांग्रेस–एमाले मिलेको बताए। बेचन झा पक्राउ परेपछि परिस्थिति एकैपटक उल्टिएको उनको भनाइ छ।

‘बेचन झा प्रकाउ परेपछि यो परिस्थिति बनाउन केही व्यक्तिहरू ज्यान फालेर लागे,’ प्रधानमन्त्रीले भने।

यसबारे केही दिनअघि सूचना पाएर पनि ओलीकै विश्वासमा परेर दायाँबायाँ नसोचेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .