ad ad

राजनीति


मन्त्री नआउँदा राष्ट्रिय सभा बैठक स्थगित

मन्त्री नआउँदा राष्ट्रिय सभा बैठक स्थगित

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८१ बिहिबार १४:२९, काठमाडौँ

सरकारका कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

सदनमा प्रस्तुत गरिने विधेयकसम्बन्धी मन्त्री नआएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना टाँस गरी बैठक नै स्थगित गरेको उनको सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे तोकिएको थियो। बैठकको सुरुमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची थियो।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख थियो।

त्यसपछि आर्थिक विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने तालिका थियो।

यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउने कार्यसूची यसअघि नै तय गरिएको थियो।

भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत र पारित गर्ने कार्यसूची पनि आजै तोकिएको थियो।

बजेटसँग सम्बन्धित यी सबै विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने निर्धारित तालिका पनि प्रभावित भएको छ।

राष्ट्रिय सभा नियमावलीको नियम ६ को उपनियम ५ मा बैठकमा सरकारका मन्त्रीको उपस्थिति अनिवार्य रूपमा हुनुपर्ने र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने व्यवस्था छ।

अब अर्को बैठक आइतबार बस्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .