ad ad

राजनीति


प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के उठाए विषय?

प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के उठाए विषय?

नेपालखबर
साउन २१, २०८१ सोमबार १६:३६, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले उद्योगी तथा व्यवसायीले विद्युत्‌भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्नैपर्ने बताए। महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सांसदहरुले गुनासो गरे।

विशेषगरी प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरुले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राखे। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको थियो।

शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा आपत्ति प्रकट गरे। 

उनले ठूला व्यवसायीले विद्युत् महसुल तिर्नु नपर्ने भए अरु उपभोक्ताले महसुल तिर्नुपर्ने कि नपर्ने भनी प्रश्न गरे।

सांसद हितबहादुर तामाङले लोडसेडिङ अन्त्य गरेर मुलुकलाई उज्यालो प्रदान गर्दै नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यकारी निर्देशक कुलमान घिसिङको मनोबल गिराउने, कारबाहीको प्रपञ्च गर्ने प्रयास सरकारले गरेको भन्दै आपत्ति प्रकट गरे।

सांसद हितराज पाण्डेले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने माग गरे। 

उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने मत राख्ने सञ्चालक समितिका सदस्यलाई हटाउने सरकारको निर्णय राम्रो नभएको बताए।

सांसद शेरबहादुर कुँवरले वर्तमान सरकारले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने माग गर्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा रोष प्रकट गरे।

सांसद बिना लामाले धादिङको गङ्गा जमुना गाउँपालिकामा गएको पहिरोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै प्रभावितलाई उद्धार, राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद विनिताकुमारी सिंहले वरिष्ठ सङ्गीतकार एवम् शास्त्रीय सङ्गीत साधक गुरुदेव कामत आर्थिक अभावका कारण उपचार गराउन नसक्दा अल्पायुमा निधन भएको उल्लेख गर्दै प्रतिभाशाली व्यक्तिको उपचारको सहज प्रबन्ध गर्न माग गरिन्।

सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको दुधौली नगरपालिकामा एउटा वडाबाट अर्को वडामा जाने पुल मिर्नाणमा न्यून बजेट विनियोजन भएका कारण सडक सञ्चालनमा आउन नसकेकाले तत्काल सहजीकरण गरिदिन आग्रह गरिन्।

सांसद शान्ति विकले नेपालको इतिहास बदल्न नेपालको महिला र दलित समुदायले खेलेको भूमिकालाई नजरअन्जान गरेर मन्त्रिपरिषद्‌मा प्रभावकारी उपस्थिति गराउन नसकिएकामा गुनासो गरिन्।

सांसद शान्ति श्रेष्ठले काठमाडौँ उपत्यकाभित्रका मुख्य सडकमा हुने जामका कारण जनजीवन प्रभावित भएको, बर्सातको समयमा जलमग्न हुने अवस्था आएको भन्दै सहजीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न माग गरिन्।

सांसद शिव नेपालीले सार्वजनिक यातायातको प्रभावकारी र सहज व्यवस्थापन गरी नागरिकलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद शिशिर खनालले पश्पतिनाथ क्षेत्रमा भइरहेको कोटीहोमको समाचार सङ्कलनमा गएका सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार भएकामा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरे।

सांसद सन्तोष चालिसेले सांसद सोविता गौतममाथि निर्वाचन क्षेत्रमा भएको दुव्र्यवहारप्रति दुःख व्यक्त गरे। 

सांसद सन्तोष परियारले नेपालको संविधानको मूलभूत पाटोका रुपमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई पछिल्ला दिनमा अस्वीकार गरिएको र सरकारले पछिल्ला दिनमा देखाएको व्यवहारप्रति आपत्ति प्रकट गरे।

सांसद सपनाराज भण्डारीले माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षामा आधाभन्दा बढी विद्यार्थी असफल हुनुको खास कारण पत्ता लगाउन माग गरे। 

सांसद सरस्वती बजिमयले निर्माण व्यवसायीले तोकिएको काम पूरा नगर्दा विकास निर्माणको काम प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सराजअहमद फारुकीले कपिलवस्तुमा नदी कटानका कारण स्थानीय किसान त्राहीमान भएको, बस्ती नै सङ्कटमा परेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गरे।

सांसद सरिता प्रसाईले लागुऔषधको अवैध कारोबार र प्रयोगका कारण युवा कुलतमा फसेको तथ्य पेस गर्दै त्यसबाट शान्ति सुरक्षा समेत प्रभावित भएकाले उचित व्यवस्थापनका लागि गृह प्रशासनको ध्यानाकर्षण गराइन्।

सांसद डा स्वर्णिम वाग्लेले समृद्ध मुलुकको परिचयका रुपमा रहेको सार्वजनिक यातायात समस्यामा रहेको स्पष्ट पार्दै आवश्यक सुधारका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। 

सांसद शान्ति चौधरीले विभिन्न भाषाभाषी, जातजातिबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भए पनि आफूहरुमाथि संसद्मा नै अमर्यादित भाषा प्रयोग भएकामा गुनासो गरिन्।

सांसद सीता मिजारले राहदानीमा सामान्य समस्या आउँदा  समेत थप दस्तुर तिर्नुपर्ने वाध्यात्मक अवस्था देखिएको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद सुनिता बरालले सडकको मर्मतसम्भारलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिन्। उनले पहाडी जिल्लामा सहज रुपमा हवाई टिकटको व्यवस्था गर्न माग गरिन्।

सांसद सुरेन्द्रराज आचार्यले छाडा पशुचौपायाका कारण कपिलवस्तुमा खेतीपातीमा समस्या पैदा भएको र स्थानीयवासी नराम्ररी प्रभावित भएको बताए। 

सांसद सुशिला थिङले पशुपति र स्वयम्भूघाटमा शव अन्त्येष्टिका लागि प्रयोग हुने दाउराको मूल्यमा असमानता रहेको तथ्य पेस गरिन्।

सांसद सञ्जयकुमार गौतमले बाढी पहिरोका कारण भोजपुरको एक परियोजनामा कार्यरत बर्दियाका नागरिक प्रभावित भएको उल्लेख गर्दै उचित राहत र क्षतिपूर्तिको प्रबन्ध गर्न माग गरे।

सांसद हर्कमाया विश्वकर्माले व्यवस्था बलिएको भए पनि महिला र दलित समुदायको अवस्था नबदलिएको बताइन्। 

सांसद हृदयराम थानीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्न माग गरे। 

सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली बस दुर्घटनामा परेर बेपत्ता नागरिकको  खोजीलाई निरन्तरता दिन माग गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .