ad ad

राजनीति


नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा, भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता

नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा, भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १६:२१, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी साता नयाँदिल्ली जाने भएकी छन्।

‘औपचारिक भ्रमण’ कै रूपमा नयाँदिल्ली जान लागेकी  परराष्ट्रमन्त्री डा. राणाको यो यात्रा भने दुईपक्षीय मामिलाको साटो स्वास्थ्यको कारणले जुराएको हो।  

विभिन्न स्वास्थ्य समस्या देखिएपछि डा. राणाको १५ चैत २०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो। नियमित स्वास्थ्य परीक्षणका लागि फेरि नयाँदिल्ली जानुपर्ने भएपछि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको हो। 

‘उहाँ व्यक्तिगत तवरमा स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने तयारीमा हुनुहुन्थ्यो, यो कुराको जानकारी पाएपछि भारतीय पक्षले उहाँलाई निम्तो पठाएको छ’ परराष्ट्रमन्त्री राणानिकट स्रोतले भन्यो, ‘निम्तो प्राप्त भएकाले उहाँको भ्रमण औपचारिक हुनेछ। तर स्वास्थ्य परीक्षणको सिलसिलामा जाने हुनुभएकाले उच्चस्तरीय भेटघाट भने धेरै हुने छैनन्।’ 

स्रोतका अनुसार, अन्य उच्चस्तरीय भेटवार्ताहरू नभएपनि मन्त्री डा. राणा र उनका भारतीय समकक्षी एस. जयशंकरसँग भने नयाँदिल्लीमा भेटवार्ता हुनेछ। भारतीय विदेशमन्त्री जयशंकरले नै निमन्त्रणा पठाएकाले दुई समकक्षीबीच भेटवार्ता हुन लागेको हो। 

आगामी हप्ताको सुरुवातमा नै जाने तय भए पनि मिति भने यकिन गरिएको छैन। 
यससम्बन्धी निर्णय आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गर्न सक्नेछ। 

‘सम्भवत उहाँ आइतबार (२ भदौ) वा सोमबार (३ भदौ) मा नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ’ स्रोतले भन्यो, ‘बढीमा तीन दिन नयाँ दिल्लीमा रहने कार्यक्रम तय भएको छ।’ 

मन्त्रिपरिषद्को बैठक केहीबेरमा सिंहदरबारमा बस्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .