ad ad

राजनीति


कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा

नेपालखबर
भदौ ४, २०८१ मंगलबार २१:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताएका छन्।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताए।

स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा उनको जोड थियो।

संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिए।

‘देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौँ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०६३ वैशाख ८ गते प्रदीप गिरीले आफूलाई फोन गरी त्यस दिनको राजा ज्ञानेन्द्रको सम्बोधनलाई मान्यता नदिन सात दलका नेताबीच सहमति जुटाउन पहल गर्न भनेको स्मरण गरे।

गिरीजस्ता नेताको भूमिकाले नै त्यसबेला शीर्ष नेतालाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ्न सहयोग पुगको उनको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तर्क गर्ने भएकाले प्रदीप गिरी र दुर्गा सुवेदीलाई प्रवासकालीन राजनीतिक समयमा विद्रोही नेता भन्ने गरिएको स्मरण गरे।

प्रदीप गिरीलाई भावी पुस्ताले पनि लोकतान्त्रिक समाजवादका एक चिन्तकका रुपमा सम्झने उनको विचार थियो। वामपन्थका रचना नपढ्ने कांंग्रेसका नेता, कार्यकर्ताको संस्कारकाबीच गिरी अपवाद भएको पनि महासचिव पोखरेलले बताए। यसैकारण पनि गिरीसँग आफूहरुले नियमित भेटघाट गर्ने स्मरण पनि उनले गरे।

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक चिन्तनका कारण गिरी सबै दलबीच लोकप्रिय बनेको उल्लेख गरे। यसैले अहिले सबै दलले गिरीको रिक्तताको अनुभूति गरेको पनि उनले बताए।

लोकतान्त्रिक समाजवादी पार्टीं (लोसपा) का नेता डा सुरेन्द्र झाले जमिन्दार परिवारमा जन्मिएर पनि गिरीको ध्यान धन सम्पत्तिमा नगएको जानकारी दिए। गिरीकै राजनीतिक छत्रछायाँमा हुर्किएको उल्लेख गर्दै उनले त्यही ज्ञानबाट अहिले आफू राजनीतिक रुपमा अघि बढिरहेको बताए।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने गरेको विषय अहिले सही सावित हुँदै गएको बताए। कांग्रेसभित्र दलित, महिला, जनजाति, मधेशीलाई समावेशी रुपमा अघि बढाउनुपर्ने विचार गिरीले नै अघि सारेको उल्लेख गर्दै उनले त्यसमा सभापति देउवाले कर्णाली जोडेर कदमजमको अवधारणा अनुसार विसं २०५८ देखि नै काम गर्दै आएको जानकारी गराए।

स्वर्गीय गिरीकी धर्मपत्नी भारती सिलवाल गिरीले राजनीति व्यवसायीकरण भएको भन्ने गरेको विषय अहिले अझै बढ्दै गएको देखिएको बताइन्। विचार र प्रतीकका सेतुका रुपमा रहनुभएका प्रदीपको अभाव नेपाली राजनीतिमा खड्किएको पनि उनले सुनाइन्।

आयोजक संस्थाका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले गिरीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणका लागि कार्यक्रम आयोजना गरिएको बताए। विसं २००४ असोज २४ गते सिरहामा जन्मेका गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .