ad ad

राजनीति


राष्ट्र संघमा राख्ने विषयबारे प्रधानमन्त्रीले संसदमा भने– नेपाल असल छिमेक सम्बन्ध चाहन्छ, छुद्र र जाली होइन

राष्ट्र संघमा राख्ने विषयबारे प्रधानमन्त्रीले संसदमा भने– नेपाल असल छिमेक सम्बन्ध चाहन्छ, छुद्र र जाली होइन

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १५:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपालले उठाउने विषयबारे सदनमा जानकारी गराएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्र संघमा राख्न लागिएका नेपालका सरोकारहरूबारे जानकारी गराएका हुन्।
त्यस क्रममा उनले छिमेक सम्बन्धका विषयमा पनि कुरा राख्ने बताएका छन्।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वाधीन राष्ट्र हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसले आफ्नो राष्ट्रिय गौरव अझ माथि उठाउनेछ। आफ्ना जायज राष्ट्रिय हितहरू अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने र संवर्धन गर्ने र आफ्नो राष्ट्रिय हित तलमाथि पर्न नदिने कुरामा नेपालको प्रतिबद्धता रहन्छ।’

असल र जिम्मेवार छिमेकीको रूपमा नेपाल रहेको र अरूबाट पनि त्यस्तै अपेक्षा रहेको पनि उनले सदनमा बताए।

उनले भने, ‘नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम गर्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन। छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ। नेपालको परराष्ट्र नीतिमा आधारभूतरुपमा भन्ने हो भने छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता। यो नीतिबाट नेपाल निर्देशित छ।’

कसैको सार्वभौमसत्तामा दख्खल नदिने र अरूको हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको उनको भनाइ थियो।

उनले अगाडि भने, ‘संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियत र नीतिमा कसैको हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति छ। त्यो कुरा पनि संयुक्त राष्ट्र संघमा राख्छौँ।’

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट पारे।

उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने सदनमा जानकारी गराए।

विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्र संघमा राखिने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीति गर्ने, आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने बताए।

प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको विषय पनि उठाउने भनेका छन्।

अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .