प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावित प्रदेश राजधानी दाङको देउखुरी क्षेत्र पश्चिम नेपालको ‘गेट–वे’ भएको बताएका छन्।
मंगलबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘यो क्षेत्र प्रदेश विकासका लागि गेट–वे हो। एकल सभ्यता भएर बग्ने राप्ती नदीको छेउमा प्रदेश राजधानी प्रस्ताव गरेका छौं।’ उनले यही नदीबाट भेरी बबई डाइभर्सन बन्दै गरेको र बाँके, बर्दिया हरित सहर बनाउन सहयोग पुग्ने जनाए।
उनले लुम्बिनी क्षेत्रलाई जति विकास गर्यो तयसै अनुरुप प्रदेशको विकास र समृद्धि हासिल हुने बताए। समग्र लुम्बिनी क्षेत्रको विकास गरी यो क्षेत्रलाई आर्थिक तथा पर्यटकीय र वित्तीय राजधानीका रुपमा विकास गरिने उनको भनाइ थियो।लुम्बिनी क्षेत्रका सम्पदाको विकास गर्ने, हिल स्टेसनको विकास गरी यस क्षेत्रलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने उनले बताए।
मुख्यमन्त्री पोखरेलले पाल्पाको रामपुर क्षेत्रलाई विशेष सहर बनाउने बताए। पूर्वी रुकुमलाई एकमात्रै हिमाली जिल्लाका रुपमा पर्यटकीय विकास गरिने जनाए। उनले भने, ‘प्रदेश सरकार कुनै एक विशेष क्षेत्रको विकास मात्रै गर्दैन, समग्र क्षेत्रको विकासमा लाग्छ।’
मुख्यमन्त्री पोखरेलले प्रस्तावित राजधानी देउखुरी क्षेत्रमा रहेका लालमटिया, सिसहनिया, गोवडिया, खुबरिया क्षेत्र थारु संस्कृतिका ऐतिहासिक क्षेत्र भएको बताए। त्यस्तै, देउखुरीको उत्तरी इलाकामा रहेका भालुवाङ, लापेजस्ता क्षेत्रले मगर सभ्यतालाई प्रतिनिधित्व गरेको जनाए। ‘गोवडिया भनेको मधेसीहरुको बसोबास रहेको क्षेत्र हो, त्यसैले प्रस्तावित राजधानी सबै हिसाबले उपयुक्त छ’, उनले भने, ‘प्रस्तावित राजधानीका लागि कसैले मन खुम्च्याउनु पर्दैन।’
उनले सोमबार प्रदेशसभामा घटेको घटना अढाई वर्षदेखि देखाउँदै आएको राजनीति संस्कार विपरीत भएको बताए। उनले आफूहरुले निर्माण गर्ने व्यवहार र संस्कृति आउने पुस्ताले अनुशरण गर्ने बताए। ‘अखण्ड लुम्बिनीको माग गर्दै जतिबेला रुपन्देहीमा आन्दोलन चलेको थियो। त्यसले तराई–पहाड जोडेर प्रदेश निर्माण गर्न ठूलो टेवा पुगेको छ। बुटवलमा चलेको आन्दोलनको ठूलो योगदान छ’, उनले भने।
उनले तीन वटा संसदीय समितिले बनाएर दिएको रिपोर्टअनुसार नै राजधानी प्रस्ताव गरिएको जनाए। उनले भने, ‘समितिले पहिलोमा दाङ, दोस्रोमा कपिलवस्तु र तेस्रोमा रुपन्देहीलाई भनेको छ। त्यसैले हामीले विशेष समितिको प्रतिवेदनअनुसार नै राजधानी प्रस्ताव गरेका हौं।’ उनले प्रदेशलाई बनाउँदा प्रदेशका १२ जिल्लाका जनताको समृद्धिको चाहनालाई जोडेर बनाउनुपर्छ भन्ने सोच्नुपर्ने जनाए।
‘हाम्रो प्रदेशभित्र स्वभाविक रुपमा आर्थिक, सामाजिक र विकासका हिसावले अघि बढेका सहर र अति विपन्न वर्ग रहेका ठाउँ पनि छन्। यी सबै विकास गर्नुपर्छ। यो प्रदेश बन्दा सिंगो राष्ट्र बन्छ। त्यसैले हामीले मिनी नेपाल भनेका छौं’, उनले भने।
कहाँ राजधानी बनाउनेभन्दा पनि कस्तो राजधानी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए। ‘हामीले जुन ठाउँ राजधानी प्रस्ताव गरेका छौं, त्यसले सबैको भावना समेट्छ’, उनले भने । प्रदेशको नाम लुम्बिनी राख्दा यसले सबैको भावनाको कदर हुने उनले जनाए। मुख्यमन्त्री पोखरेलले स्थायी राजधानी र नामबारे सरकारले गरेको प्रस्ताव एकमतले पारित गर्न आग्रह गरे।
प्रतिक्रिया