ad ad

राजनीति


एमसीसी पारित गर्ने कि नगर्ने? पूर्वअर्थमन्त्री खतिवडा यसो भन्छन् (भिडियो)

एमसीसी पारित गर्ने कि नगर्ने? पूर्वअर्थमन्त्री खतिवडा यसो भन्छन् (भिडियो)

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ११:१०,

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन्।

संघीय संसद अन्तरगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताए।

एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उनले बताए। सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए।

अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने उनले बताए।

उनले भने, ‘हिजो म सरकारमा थिए। एमसीसी पास गर्नलाई निर्णायक भूमिकामा हुन्थ्यो। अब परराष्ट्रमन्त्रालयले जे निर्देशन दिन्छ त्यो निर्देशन मात्रै पालना गर्ने तहमा छु। मेरा नीजि विचार होलान् तर सरकारको निर्देशन पालना गर्ने हो। व्यक्तिगत भूमिका भन्नुपर्दा यहाँ जे कुराहरु उठेका छन्। केही उपयुक्त कुरापनि उठेका छन् केही फरक कुरा पनि उठेका छन्। हाम्रो बुझाइले फरक भएका कुराहरु बुझाउने काम हुन्छ। त्यसमा स्पष्ट गर्नुपर्ने कुरा गरौँला। उहाँहरुले पनि भन्नुभएका कतिपय कुराहरुमा छलफल गरेर अगाडि बढ्न सकिन्छ भन्नुभएको छ। हाम्रो नेपालमा विकासको मात्र स्वार्थ छ त्यो भन्दा अरु कुनै स्वार्थ छैन भनेर अमेरिकाले भनिरहेको छ। नेपालमा उठेका कुराहरु त्यहाँ लगेर छलफल गरेर यी कुराहरु यस्तो भन्दा उहाँहरुको पनि समझदारी बनाउन सकिन्छ।’

अहिले नेपालमा युएसएआडीको पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रि बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताए।

आफूविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमि कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताए। २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरु गर्नु सामान्य भएको उहाँले बताए।

उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे।

कर प्रणाली लगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उनले भने, ‘संसदमा छलफल भएर कर प्रस्तावमा आएका कुराहरुमा प्रयाप्त बहस भएका छन्। कमि छन् भने छानबिन गर्नुपर्छ। संसदीय समितिहरुले हेर्न सक्छन् हेर्न पर्छ। कहिले काँही असल नियतले काम गर्दा गल्ति भएको हुन सक्छ। कहिले नियतै खराव भएर पनि काम गरेको हुन सक्छ। यो पदमा रहँदा मात्र हैन पदपछि व्योहोर्नुपर्ने कुरा हो। मैले गरेको कामको जवाफेहिता मैले लिन्छु। अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदैन।’

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले आफूले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताएका छन्। संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरु प्रदेशमा गएर मन्त्री बनेका छन् भने। उनले प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको बताए।

उनले भने, ‘कहाँ भूमिका आवश्यक पर्छ त्यहाँ निभाउने हो। राज्यले दिएको जिम्मेवारीमा मेरो प्रोटोकल मिलेन की भन्दा आफूले जे भूमिका निर्वाह गर्न सकिन्छ त्यो भूमिका खोज्ने हो। अमेरिकाको राजदूत हुनका लागि कहिले पनि प्रस्ताव गरेको होइन। सरकारले त्यहाँ सिफरिस गरेको छ। र जाने हो। मैले त्याँ पनि मन्त्री सरह कै प्रोटोकल हुन्छ भनेर सुनेको छ। सिफारिस भयो भने त्यो कुरामा स्पष्ट पनि हुँला।’

उनले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रिय हित दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि बताए। नेपालमा बाह्य लगानीको आश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित ब्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्ने तर्फ सहयोग गर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .