नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।
महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो।
भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो।
‘आज बिहान महासचिव विप्लवले मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भयो।’
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि शुक्रबार सार्वजनिक भएका हुन्।
शुक्रबार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।
प्रतिक्रिया