नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले आज राख्न लागेका संसदीय दल र केन्द्रीय कमिटीका बैठक पार्टीको नभएर गुटको भएको आरोप लगाएका छन्।
एमाले अध्यक्ष ओलीले आज संसदीय दल र केन्द्रीय कमिटी बैठक राख्दै छन्। जसमा सहभागी नहुने भनेर नेपाल–खनाल पक्षले शुक्रबार साँझ नै भनिसकेको छ।
तर नेता खनालले फेरि आज बिहान विज्ञप्ति जारी गरी आफू सहभागी नहुने कुरा दोहोर्याएका हुन्।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नहुने कुरा सबैलाई जानकारी गराइन्छ। र गुटगत निर्णय पनि अमान्य हुने कुरा सबैमा सूचीत गरिन्छ।’
एमाले पुनःस्थापित हुनु भनेको २०७५ जेठ ३ अघिको कमिटी क्रियाशील हुनु रहेको उल्लेख गर्दै नेता खनालले अध्यक्ष ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरेका निर्णय पार्टी विधानविपरीत भएको कुरा पनि विज्ञप्तिमार्फत दोहोर्याएका छन्।
‘यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ। नेकपा (एमाले) को दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अवैधानिक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलका सदस्यहरूलाई बैठकमा नबोलाउने, निषेध गर्ने, दुराग्रहप्रेरित ढंगले चल्ने, सदस्यहरूलाई उपस्थित नै नगराउने र फेरि बोर्डमा राखिएको भन्ने हल्ला पिटाउने कार्य गलत छ। हामीलाई आजसम्म पनि बोर्ड गठन गरिएको बारेमा आधिकारिक सूचना र जानकारी आएको छैन।’
प्रतिक्रिया