एमाले सचिव पद्मा अर्याल पछिल्लो समय चर्चित छिन्। नेपालको चुच्चे नक्सा निकालेको जस पाएकी उनी स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फको चुनावी मैदानमा छिन्। उनको क्षेत्रको मतगणना सुरु भएको छैन। चुनावमा धाँधली भएको आरोपसहित केही बुथमा पुनः मतदानका पक्षमा उभिएकी पद्माका प्रतिस्पर्धी कांग्रेस उपसभापति धनराज गुरुङ छन्। सो क्षेत्रको नजिताका लागि कुर्नैपर्ने देखिँदा एमालेमा अर्की पद्माको उदय भएको छ। अर्की पद्माचाहिँ नवलपुरबाट उदाएकी हुन्।
नवलपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेकी पद्मा जीसी श्रेष्ठले ५ दलीय गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका सोम श्रीपालीलाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेकी छन्। जीसीले १९ हजार ३८८ मत ल्याउँदा श्रीपालीले १४ हजार ७ ४३ मत पाए। पद्मा एमालेको केन्द्रीय लेखा आयोग सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्।
२०३१ साले यी पद्मा आमाको प्रेरणाले राजनीतिमा आएकी हुन्। पद्माकी आमा उम्मादेवी जीसी पञ्चायतकालमै कम्युनिस्ट बनेकी थिइन्।
हाल कावासोती २ मा रहेको शिव माध्यमिक विद्यालय पढ्दा नै अखिल बनेकी २०४७ सालमा कुमारवर्ती वाणिज्य क्याम्पसको अखिल सदस्य हुँदै २०४८ सालमा अनेरास्ववियुको जिल्ला कमिटीमा पुगिन्।
राजनीति रगतमै थियो। एमालेको भ्रातृ संगठनमा सक्रिय रहँदै गर्दा २०७२ सालमा उनी अनेम संघको जिल्ला अध्यक्ष बन्न पुगिन्। जिल्लामा उनी राजनीतिसँगै गैरसरकारी संस्थाका क्रियाशील बनिन्। सहयात्रा नामक संस्थाको अध्यक्ष पदमा रहेर उनले महिला सशक्तीकरण अभियान चलाइन्। आफ्नो राजनीतिक प्रभाव पनि बढाउँदै लगिन्। लायन्स क्लबसँगको संलग्नताले पनि उनको राजनीति यात्रामा सघायो।
विद्यालयको शिक्षक अभिभावक संघलगायतका संस्थाको नेतृत्व लिँदै गर्दा उनको सामाजिक र राजनीतिक चिनारी फराकिलो बन्यो।
एमालेसँगको लामो संलग्नता र सामाजिक चिनारीबाटै उनले प्रदेशसभामा चुनाव लड्ने टिकट पाइन्। नवलपुरबाट प्रत्यक्षतर्फ उनले दिएको उम्मेदवारीलाई जनताले पत्याए। ५ दलीय गठबन्धनलाई पाखा लगाउँदै उनी माननीय बनिन्। पद्मा महिला सशक्तीकरणको पक्षपाती हुन्।
त्यो विषय उठानका लागि उनले अब फोरम पाएकी छन्। बिहेपछि पढाइ रोकियो त के भो? उनले पढाइलाई निरन्तरता दिएकी छन्। अहिले स्नातक तह तेस्रो वर्षकी यी विद्यार्थीका लागि अब राजनीतिको फराकिलो खुला भएको छ। सचिव पद्माकै उचाइमा पुग्न लामो यात्रा गर्नुछ। यात्रा कसरी गर्ने? त्यो भने उनकै सुझबुझ र कर्ममा निर्भर छ।
यता, प्रदेशसभा ‘ख’मा पनि एमालेका लक्ष्मण पाण्डे विजयी भएका छन्। नेकपा एसका गोपाल खनाललाई हराउँदै उनी विजयी भएका हुन्। पाण्डेले १८ हजार ८०६ मत पाउँदा खनालले १४ हजार ७६१ मत पाए।
Shares
प्रतिक्रिया