ad ad

राजनीति


योगेशको क्षेत्रको मतगणना रोचक मोडमा

योगेशको क्षेत्रको मतगणना रोचक मोडमा

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १४:१०, काठमाडौँ

फुङलिङ नगरपालिकाका ५ वटा वडाको मतगणना सुरु भएसँगै एमाले र सत्तागठबन्धन दुबैतिरका नेता–कार्यकर्तामा धुकचुक बढ्न थालेको छ। 

एमाले सचिव योगेश भट्टराईले प्रतिस्पर्धी रहेको यो क्षेत्रमा सत्तागठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले उनलाई कडा टक्कर दिएका छन्। 

सुरुदेखि भट्टराईलाई पछि पार्दै आएका बुढाक्षेत्री बुधबार विहानसम्म आइपुग्दा १ सय ३५ मतले मात्र पछाडि छन्। 

भट्टराई २० हजार २ सय ७२ मतसहित अग्रस्थानमा रहँदा बुढाक्षेत्रीले २० हजार १ सय ३७ मतसहित उनलाई पछ्याइरहेका छन्। 

सत्तागठबन्धन र एमाले दुबैतर्फ आश्चर्य सिर्जना गर्दै आफू कडा टक्कर दिएका बुढाक्षेत्रीमाथि फुङलिङ नगरपालिकाबाट निर्णायक रुपमा पछि पारेर विजय हासिल गर्ने भट्टराईको अपेक्षा छ। 

गणना गर्न बाँकी रहेका वडाहरुमा ४, ५, ६, ७ र ८ छन्। यी सबैमा खसेको कूल मतसंख्या ३ हजार ८ सय ४ रहेको छ। 

स्थानीय तह निर्वाचनमा यी वडाहरुमा एमाले र सत्तागठबन्धनबीच तीब्र प्रतिस्पर्धा रहेको, अन्तिम मतान्तर निकै कम रहेको र सत्तागठबन्धनभित्र ‘भोट ट्रान्सफर’ को समस्या नरहेकालेपनि ताप्लेजुङको अन्तिम मतगणनाले दुबै पक्षमा धुकचुक बढाएको हो ।  

मतगणना सुरु गर्न लागिएकामध्ये वडा नं ४ मा यसपटक ८ सय ६४ मत खसेको थियो। स्थानीय तह निर्वाचनमा यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार ४ सय ८ मत सहित विजयी भएका थिए। 

सत्तागठबन्धनमध्ये कांग्रेस उम्मेदवारले यहाँ ३ सय ९८ र एकीकृत समाजवादीका उम्मेदवारले १ सय २६ मत प्राप्त गरेका थिए। 

वडा नं ५ मा यसपटक ५ सय ९८ मत खसेको छ। स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनबाट माओवादी केन्द्रले विजय हासिल गरेको यो वडामा माओवादी उम्मेदवारले २ सय २६ र एमाले उम्मेदवारले १ सय ९२ मत प्राप्त गरेका थिए। 

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको वडा नं ६ मा यसपटक ७ सय ७४ मत खसेको छ। 

यसमध्ये विजयी कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ४ सय ६१ र एमालेका उम्मेदवारले ३ सय ४३ मत प्राप्त गरेका थिए।  

वडा नं ७ मा एमाले विजयी भएको थियो। यसपटक ६ सय ४५ मत खसेको यो वडामा विजयी एमालेले २ सय ८५ र कांग्रेस उम्मेदवारले २ सय ५३ मत प्राप्त गरेका थिए। 

यसैगरी वडा नं ८ मा ९ सय १४ मत खसेको छ। स्थानीय तह निर्वाचनमा विजयी कांग्रेस उम्मेदवारले यहाँ ६ सय ६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ३ सय ४६ मत प्राप्त गरेका थिए। 

यस हिसाबले स्थानीय तह निर्वाचनमा यी पाँच वटा वडामा सत्तागठबन्धनका उम्मेदवारहरुले प्राप्त गरेको मतसंख्या २ हजार १ सय २९ थियो भने एमाले उम्मेदवारहरुको कूल मत १ हजार ५ सय ७४ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .