पार्टी महासचिव शंकर पोखरेल प्रतिनिधि सभा सदस्य निर्वाचन (दाङ–२) मा हारेसँगै नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको ‘उत्तराधिकारी’ बन्ने अभियानमा धक्का लागेको छ।
आफ्नो उत्तराधिकारका रूपमा विकास गर्न अध्यक्ष ओलीले एमालेको गत महाधिवेशनमा पोखरेललाई महासचिव बनाएका थिए।
ओलीको उत्तराधिकारी बन्न एमालेभित्र विष्णु पौडेल र शंकर पोखरेल प्रतिस्पर्धामा थिए। यसैबीच एमालेको दसौँ महाधिवेशनमा ओलीले महासचिवका रूपमा पोखरेललाई अघि बढाएपछि पोखरेललाई ओलीको उत्तराधिकारी मान्न थालिएको थियो।
मुख्यमन्त्री छँदा लुम्बिनी प्रदेशको राजधानी बुटबलबाट दाङ सार्न सफलता प्राप्त गरेकाले पनि एमालेको आन्तरिक राजनीतिमा पौडेलविरुद्ध पोखरेल निर्णायक रूपमा हावी भएको विश्लेषण गर्न थालिएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग हार्दिक सम्बन्ध बनाएका कारण पौडेलको विकल्पमा ओलीले पोखरेललाई अघि बढाएको हुनसक्ने विश्लेषण एमाले पंक्तिभित्र हुने गरेको छ।
तर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका पोखरेल आमनिर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा माओवादी नेतृ रेखा शर्मासँग पराजित भए।
आफ्नै निर्वाचन क्षेत्रका मतदाताको विश्वास जित्न नसकेका पोखरेल कसरी ओलीको उत्तराधिकारी बन्न सक्छन् भन्ने प्रश्न अब एमालेभित्र उठ्न सक्छ।
पोखरेल आफू मात्र हारेका छैनन्, पछिल्लो समय उनले अघि सारेको राजनीतिक मान्यताको समेत यो निर्वाचनमा पराजय भएको छ।
एमालेको मार्ग निर्देशक सिद्धान्त ‘जबज’ले बहुदलीय प्रतिस्पर्धाको वकालत गरे पनि नेकपा विभाजनयता पोखरेलले ‘दुई दलीय व्यवस्था’ वकालत गर्न थालेका थिए।
महासचिव पोखरेलको यस्तो वकालतका कारण उनलाई एमालेभित्रै ‘जनताको बहुदलीय जनवादका व्याख्याता’ होइन, ‘दुई दलीय जनवादका वकालतकर्ता’ भन्न थालिएको थियो।
उनको मान्यता ‘दक्षिणपन्थी–उदारवादी’ धारको नेतृत्वकर्ता नेपाली कांग्रेस र वामपन्थी धारको नेतृत्वकर्ता एमाले गरी नेपालमा दुई राजनीतिक दलको मात्रै अस्तित्वमा रहनुपर्छ भन्ने थियो।
यही मान्यताका आधारमा उनले स्थानीय तह निर्वाचन–२०७९ पछि नेपालको राजनीति विस्तारै यिनै दुई दलतर्फ ध्रुवीकृत हुने र अरु पार्टी लोप हुँदै जाने विश्लेषण गरेका थिए।
उनको विश्लेषणलाई पछ्याउँदै एमाले अध्यक्ष ओलीले पनि यो निर्वाचनपछि नेपालको राजनीति नेपाली कांग्रेस र एमालेतर्फ ध्रुवीकृत हुने र अन्य शक्ति लोप भएर जाने जाने दाबी गरेका थिए।
पोखरेलको दाबी स्थानीय तह निर्वाचन परिणामले नै असत्य साबित गरेको थियो। तर, असत्य भइसकेको यस्तो दाबी त्यसयता अध्यक्ष ओली र महासचिव पोखरेल दुवैले दोहोर्याइरहेका थिए।
नेपालमा दुईभन्दा धेरै पार्टी सक्रिय छँदैथिए, यो निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको जुन रूपमा उदय भएको छ, त्यसले पोखरेलको नेपाल दुईदलीय ध्रुवीकरणतर्फ केन्द्रित छ भन्ने विश्लेषण र दाबीलाई झन् गलत साबित गरेको छ।
बरु, सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशमा जनमत पार्टी र थारु बहुल क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको उदयले मतदाताहरूले ठूला र स्थापित भनिएका पार्टीको विकल्प खोजिरहेका छन् भन्ने संकेत गरिसकेको छ।
Shares
प्रतिक्रिया