प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) ले पनि ‘थ्रेसहोल्ड’ कटाउन लागेको छ। उसले अहिलेसम्म ३ लाख १९ हजार ४ सय १९ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ। अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ। यसर्थ ३ लाख १९ हजार ४ सय १९ मत ल्याइसकेको जसपा थ्रेसहोल्ड पार गर्ने संघारमा छ भन्न सकिन्छ।
यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड पार गरिसकेका छन्। यो खबर तयार पार्दासम्म पहिलो स्थानमा रहेको एमालेले २५ लाख १९ हजार ३ सय १६, दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८७ हजार ३ सय १९ र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ३ सय २२ समानुपातिक मत प्राप्त गरिसकेका छन्।
जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड पार गर्न संघर्षरत छन्। अहिलेसम्म जनमतले २ लाख ५६ हजार १७ र एकीकृत समाजवादीले २ लाख ४८ हजार ८ सय ४९ समानुपातिक मत पाएका छन्।
अहिलेसम्म समानुपातिकतर्फ ९२ लाख ५० हजार ८ सय ९१ मत गणना भइसकेको आयोगको तथ्यांकमा उल्लेख छ।
Shares
प्रतिक्रिया