ad ad

राजनीति


कर्णाली एमालेमा पार्टी केन्द्रको शक्तिमा 'ब्रेक', अध्यक्ष बने गुलाबजंग शाह

कर्णाली एमालेमा पार्टी केन्द्रको शक्तिमा 'ब्रेक', अध्यक्ष बने गुलाबजंग शाह

दिनेश बुढा
असोज १५, २०८० सोमबार २०:४१, सुर्खेत

बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन्। 

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए।

शाहीले २०७ मत मात्र पाए। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी भएका छन्। उनले ३४२ मत प्राप्त गरे।  उनका निकटतम् प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गरे।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे।

पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो।

ओलीलाई झट्का!
यो परिणामसँगै कर्णालीमा अध्यक्ष ओलीलाई झट्का लागेको छ। ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। उनले अध्यक्षका प्रत्यासी मीनबहादुर शाहीलाई सर्वसम्मत् अध्यक्ष बनाउन चाहेका थिए।

शाहीलाई ओलीले यसअघि पनि राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए।

तर, सर्वसम्मत नभई निर्वाचन हुँदा ओलीको साथ पाएका शाही भारी मतले पराजित भए। अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो। त्यसैले कर्णालीको प्रतिस्पर्धालाई कँडेल र ओलीबीचको प्रस्तिस्पर्धारूमा समेत अर्थ्याइएको थियो।

शाहको विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी नेतृत्वलाई दिएका छन्। 

एमाले पार्टी राजनीतिमा केन्द्रीय नेतृत्वले नरुचाएका नेता हुन्, यामलाल कँडेल। सुर्खेतका कँडेल एमालेको १० औं महाधिवेशनबाट पार्टी सचिव बन्न चाहन्थे। कर्णालीले जसरी पनि पार्टीको केन्द्रीय कमिटीमा जिम्मेवारी पाउनुपर्ने अडानसहित कँडेल चितवन पुगेका थिए। न्यायोचित अधिकारका लागि कँडेललाई कर्णालीका अन्य नेताको पनि समर्थन थियो। 

कँडेल र कर्णालीको चाहना केन्द्रीय नेतृत्वले सम्बोधन गरेन। तत्कालीन प्रदेश इन्चार्ज रहेका कँडेललाई पार्टीको कार्य विभाजनमा घटुवा गरेर दैलेख इन्चार्ज बनाएपछि केन्द्रीय नेतृत्वप्रति कँडेल झनै रुष्ट थिए।

कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा पार्टी सचिव लेखराज भट्ट छन्।

६ वर्षअघि अर्थात् २०७४ मा कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा थिए। 

४० सदस्यीय प्रदेशसभामा एमालेबाट मात्रै २० सदस्य थिए। उतिबेला कँडेल मुख्यमन्त्रीको निर्विकल्प उम्मेदवार थिए। तर, तत्कालीन नेकपा माओवादी र एमालेको एकतापछि बनेको नेकपामा कँडेल प्राथमिकतामा नपरेपछि उनको मुख्यमन्त्री बलियो सम्भावनामा केन्द्रीय नेतृत्वको लेनदेन नै तगारो बन्यो। कँडेलले पटक–पटक मुख्यमन्त्री बन्न कोसिस गरे। तर, कुनै पनि हालतमा केन्द्रीय नेतृत्वले कँडेललाई साथ दिएन।

१० पुस २०७९ मा राष्ट्रिय समीकरणमा आएको बदलावले कँडेललाई पुनः मुख्यमन्त्री बन्ने मौका थियो। तत्कालीन अवस्थामा एमाले र माओवादीबीच सत्तासमीकरण हुँदा पनि केन्द्रले कँडेलका लागि कर्णालीलाई प्राथमिकतामा पारेन।

आफूमाथि पटक–पटक केन्द्रले अन्याय गरेको गुनासो गर्दै आएका कँडेलले यसपटक  आफूअनुकूलको नेतृत्व चयन गरेर जवाफ फर्काइदिएको उनीनिकट नेताहरू बताउँछन्।

२४ असोज २०७७ मा नेकपा नेतृत्वको सरकारविरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए।

कँडेलको सोही कदम केन्द्रीय नेतृत्वले नेकपा फुटको बीजारोपणका रुपमा बुझेर उनलाई किनारामा धकेलेको कर्णालीका धेरै एमाले नेताहरूले बुझेका छन्।

ओली र कँडेलबीचको सम्बन्ध कतिसम्म खराब भइसकेको थियो भने गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा पार्टी केन्द्रले सुर्खेत-१ (क) मा डण्डिप्रसाद शर्मालाई टिकट दिएको थियो। कँडेल आफूनिकट खड्कबहादुर खत्रीलाई उम्मेदवार बनाउन चाहन्थे। तर, कँडेलले केन्द्रको टिकट पाएका शर्मालाई हराउन जिल्ला कमिटीबाटै निर्णय गराएका थिए।

उक्त निर्णयपछि शर्माले चुनाव हारे। पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन नेतृत्व गरेको भन्दै कँडेलप्रति केन्द्रीय नेतृत्व थप आक्रामक बनेको थियो।

को हुन् अध्यक्ष शाह?
२०४० सालबाट अनेरास्ववियु पाँचौंमा आबद्ध भएर राजनीतिमा होमिएका शाह हाल पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा छन्। २०५६ मा तत्कालीन नेकपा एमाले विभाजनपछि बनेको नेकपा मालेमा आबद्ध भएका उनी मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बने।

२०५७ मा तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुगे। उनी एमालेको ९ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। 

शाह २०७४ मा तत्कालीन नेकपा माओवादीसँग बनेको वामगठबन्धका तर्फबाट सल्यान क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट  पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका नेता हुन्। 

एमाले संसदीय दलको प्रमुख सचेतक रहेका शाह तत्कालीन नेकपाको पनि प्रमुख सचेतक नै रहे।

गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सल्यान क्षेत्र नम्बर १ (ख) बाट संसदीय निर्वाचनमा होमिएका शाह नेपाली कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .