ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीको शपथमै किचलो, माओवादीले पठाएन मन्त्रीको नाम

एमाले र राप्रपाले गरे बहिष्कार
कोशीका मुख्यमन्त्रीको शपथमै किचलो, माओवादीले पठाएन मन्त्रीको नाम

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १२:३६, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोहमै किचलो भएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारमा पनि सहभागी नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाको शपथग्रहण समारोह नै बहिष्कार गरेको छ। 

माओवादीले दुईजना सांसदलाई मन्त्रीको शपथ खुवाउन गरेको प्रस्तावलाई मुख्यमन्त्री थापाले अस्वीकार गरिदिएका छन्। त्यहीकारण मन्त्री हुनेहरूको नाम टुंग्याउन नसकेको भन्दै माओवादी मुख्यमन्त्रीको शपथ समारोहमै सहभागी भएन। 

बिहीबार सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जुटाएर ४७ सांसदसहित मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको शपथ ग्रहण शुक्रबार बिहान साढे ८ बजेका लागि राखिएको थियो। 

तर निर्धारित समयभन्दा एक घण्टा कुर्दा पनि माओवादीबाट मन्त्रीको नाम आएन। अर्कातिर शपथ समारोहमा मा‌ओवादीका कोही नेता पनि सहभागी भएनन्। 

सभामुख गौतमले सरकार बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि आक्रोशित नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले शपथग्रहण समारोह नै बहिष्कार गरेका छन्। 

मा‌ओवादीले नाम नपठाएपछि मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरे।

उता माओवादी केन्द्र संसदीय दलको बैठक बस्ने भनिए पनि सम्भावित मन्त्रीहरुको नाममा सहमति जुट्न सकेन। 

थापालाई मुख्यमन्त्री बनाउन सभामुख गौतमले हस्ताक्षर गरेर संविधानविपरीत काम गरेको आरोप लागिरहेका बेला गठबन्धनमा मन्त्रीलाई लिएर किचलो देखिएको हो। 

माओवादीमा हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री भइसकेका जीवन आचार्य फेरि दोहोरिन चाहन्छन्। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ पनि हुन्।

उता अर्का माओवादी सांसद दुर्गा चापागाईं पनि मन्त्रीमा दोहोरिन तम्तयार थिए। माओवादीमा आचार्य र चापागाईंलाई दोहोर्‍याउने कि नयाँलाई पठाउने नयाँलाई पठाउने भन्ने विवाद सिर्जना भएपछि माओवादीले मन्त्रीको नाम टुंग्याउन सकेन।

प्रचण्डका ज्वाइँ आचार्यलाई लिएर माओवादीमा फेरि विवाद देखिएको हो। आचार्यले दोहोरिन चाहेपछि माओवादीमा सबै पुरानालाई फेरि मौका दिने या नयाँ पठाउने भन्नेमा कुरा मिलेको छैन। स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री थापालाई आचार्यलाई दोहोर्‍याएर लैजान भनेका थिए। 

सांसद आचार्य मन्त्री हुन तयार भइसक्दा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आन्तरिक बैठक बोलाए। बैठकमा पनि आचार्यभन्दा वरिष्ठ चापागाईंलाई नै मन्त्री बनाउने कुरा उठेको थियो। 

यसै विषयलाई लिएर माओवादी केन्द्रका प्रदेश सचिव एवम् सांसद गणेश उप्रेती असन्तुष्ट देखिएका छन्। उनले अहिले माओवादीले चालेको कदम अनुचित भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .