ad ad

राजनीति


इलाममा गगनको दाबी: सत्ता गठबन्धन माघ कट्दैन, कट्यो भने जवाफ दिन आउँछु

इलाममा गगनको दाबी: सत्ता गठबन्धन माघ कट्दैन, कट्यो भने जवाफ दिन आउँछु

इलाममा चुनावी सभालाई सम्बोधन गर्दै गगन थापा। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १६:५५, इलाम

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले बनेको सत्ता गठबन्धनले आगामी माघ नकटाउने दाबी गरेका छन्। 

शनिबार इलामको सदरमुकाम चोकबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनले माघ कटायो भने आफू जवाफ दिन इलाम नै आउने समेत बताए। 

इलाममा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको चुनावी सभालाई सम्बोधन गर्न थापा शनिबार इलाम बजार आइपुगेका हुन्। 

‘०८१ सालको वैशाख ८ गते हो आज, अहिले बनेको गठबन्धनले ०८१ सालको माघ कटाएछ भने तपाईंहरूको बीचमा फेरि जवाफ दिन आउनेछु,’ उनले भने।

साथै उनले चुनावअघि गठबन्धन गर्ने संस्कार हट्नुपर्ने तर्क पनि गरे। 

‘चुनावको अघिको गठबन्धन जनतालाई धोका हो, चुनावअघिको गठबन्धन बेइमानी हो, चुनावअघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो, चुनावअघिको गठबन्धन मतदाताको अवमूल्यन हो,’ उनले भने। 

नेकपा एमाले र माओवादी केन्द्रसहितलाई एक्लाएक्लै चुनावी मैदानमा सहभागी हुन थापाको आग्रह छ। 

‘अब हामीले यसलाई हाईहाई होइन, बाईबाई गर्ने बेला आएको छ,’ थापाले भने।

इलामबाटै गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिनुपर्ने बेला आएको उनको जिकिर छ। 

‘यो ठाउँबाट गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिनुपर्ने बेला आएको छ। गठबन्धनको राजनीतिले हाम्रो राजनीतिलाई फोहोर बनाएको छ,’ थापाले भने।

उनले एमाले र माओवादीले समेत आआफ्ना पार्टीमा चुनावअघिको गठबन्धन तोड्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .