ad ad

राजनीति


बारामा आज एकैदिन सत्ता गठबन्धन र एमालेले आमसभा गर्दै

बारामा आज एकैदिन सत्ता गठबन्धन र एमालेले आमसभा गर्दै

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ९:२६, बारा

यही वैशाख १० गते बारा-२ मा हुने उपनिर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धन र नेकपा एमालेले बारामा आज एकैदिन अलग-अलग स्थानमा आमसभा गर्दै छन्।

उपनिर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन सत्ता गठबन्धन र एमालेले आफ्ना शीर्ष नेताहरुले सम्बोधन गर्नेगरी बृहत् आमसभा गर्न लागेका हुन्।

सत्ता गठन्धनबाट बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् भने एमालेले यहाँ पूर्वमन्त्रीसमेत रहेका नेता पुरुषोत्तम पौडेललाई उठाएको छ। 

चुनावको माहोल आफ्ना पक्षमा पार्न यतिबेला बारामा उम्मेदवारहरु अन्तिम कसरत गरिरहेका छन्। 

सत्ता गठबन्धनले गढीमाई र एमालेले नेपाल-भारत सीमा क्षेत्रनजिकै पर्ने पचरौतामा आमसभा गर्न लागेका हुन्। सत्तारुढ गठबन्धनले बिहान ११ बजे र एमालेले दिउँसो १ बजे सभा सुरु गर्ने तयारी गरिरहेका छन्। 

गढीमाई बारा २ निर्वाचन क्षेत्रको बीच भागमा पर्छ भने पचरौटा गढिमाईबाट झण्डै २० किलोमिटर दक्षिण बोर्डर छेउमा पर्छ। 

सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठले जानकारी दिए। 

त्यसैगरी एमालेले पचरौटामा आयोजना गर्ने चुनावी सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता एवं बारा २ का उम्मेदवार पुरुषोत्तम पौडेलले जानकारी दिए। 

‘आमसभामा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हिजै यहाँ आइसक्नुभएको छ’, पौडेलले नेपालखबरसँग भने, ‘अध्यक्षज्यू हेलिकप्टरबाट दिउँसो १ बजे आइपुग्नुहुनेछ। हामी अहिले कार्यक्रमको तयारी गरिरहेका छौँ।’ 

बारा २ मा उपेन्द्र यादवलाई विजयी गराउन सत्तारुढ गठबन्धनले सबै शक्ति परिचालन गरेको छ। चुनावको नतिजा आफ्ना पक्षमा पार्न सत्ता गठबन्धनका वरिष्ठ नेताहरुले दुई साता अघिदेखि नै बारा आएर उपेन्द्रका पक्षमा मत मागिरहेका छन्।

यसअघि नै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृण खाण, लोसपाका नेता जितेन्द्र सोनल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठलगायत नेताले बारा २ मा भएका विभिन्न सभालाई सम्बोधन गर्दै उपेन्द्रका लागि मत मागिसकेका छन्। 

कांग्रेस नेता जयकुमार चौरसिया दिनहुँ उपेन्द्रको चुनावी अभियानमै छन्। 

जसपासहित सत्ता गठबन्धनका दलले बारा २ मा उपेन्द्र यादवको जितलाई जीवन-मरणको सवाल बनाएका छन्। तर, भर्खरै माओवादी केन्द्र छाडेर जनमत पार्टीका उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा यादवको विजय यात्रामा तगारो बन्न सक्ने अनुमान मतदाताले गरिरहेका छन्। 

कुशवाहालाई विजयी बनाउन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आफैँ दिनरात निर्वाचन प्रचारमा खटिएका छन्। 

बारा २ मा मुख्य रुपमा जसपाका यादव र जनमतका कुशवाहाबीच नै प्रतिस्पर्धा हुने अनुमान छ। एमालेका उम्मेदवार पौडेल र रास्वपाका उम्मेदवार रमेश खरेल पनि चुनावमा आफ्नो जित सुनिश्चित रहेको प्रचार गर्दै निर्वाचन अभियानमा होमिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .