ad ad

राजनीति


जनयुद्ध दिवसका दिन सुदूरपश्चिम आउँदै प्रधानमन्त्री प्रचण्ड, एकैदिन चार कार्यक्रम

विकासे योजना अनुगमनको सुरुवात सुदूरपश्चिमबाट गर्दै
जनयुद्ध दिवसका दिन सुदूरपश्चिम आउँदै प्रधानमन्त्री प्रचण्ड, एकैदिन चार कार्यक्रम

गोकुल जोशी
फागुन १, २०७९ सोमबार ७:८, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (सोमबार) कैलाली र कञ्चनपुरको भ्रमणमा आउँदै छन्। 

प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलोपटक सुदूरपश्चिम आउन लागेका हुन्। 

सोमबार सुदूरपश्चिमका कञ्चनपुर र कैलालीका ठूला विकास योजनाको अनुगमन/निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सहसचिव गोकर्ण भट्टले जानकारी दिए। 

‘प्रधानमन्त्रीज्यूले विकासे योजनाको निरीक्षण/अनुगमनको सुरुवात सुदूरपश्चिमबाट गर्दै हुनुहुन्छ,’ उनले भने, ‘सोमबार दिनभर कैलाली–कञ्चनपुरमा बिताएर बेलुका काठमाडौँ फर्किनुहुन्छ।’

उनका अनुसार आज बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड कैलाली पुग्नेछन्। 

कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिमका शीर्ष नेता र सांसदहरूले प्रचण्डसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा प्रचण्डले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका छन्।

उनले अगामी मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गर्ने समेत सुदूरपश्चिमका सांसद र शीर्ष नेताहरूसमक्ष बताएका छन अरबौँका संरचना निर्माण भएर पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको स्थान निरीक्षण गर्ने कार्यक्रम छ। 

त्यसपछि उनले बिहान ११:३० मा महेन्द्रनगरको खुलामञ्चमा हुने १४औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने छन्। 

नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ का अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सो कार्यक्रममा पुग्ने छन्।

एकै दिनका यी चार कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने कार्यतालिका छ। 

प्रधानमन्त्री प्रचण्ड कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .