ग्लोबल


भारतीय लोकसभा चुनावः १३ राज्यका ८८ सिटमा मतदान जारी, जहाँ प्रतिस्पर्धामा छन् यी दिग्गज नेता

भारतीय लोकसभा चुनावः १३ राज्यका ८८ सिटमा मतदान जारी, जहाँ प्रतिस्पर्धामा छन् यी दिग्गज नेता

राहुल गान्धी र हेमा मालिनी


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १०:१७, काठमाडौँ

भारतमा आज (शुक्रबार) लोकसभा चुनावको दोस्रो चरणको मतदान भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ७ बजेदेखि १३ राज्यका ८८ सिटका लागि मतदान भइरहेको हो। 

असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मु-कश्मिर १३ राज्यका ८८ सिटका लागि मतदान भइरहेको हो।

यस चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न दलका दिग्गज नेताहरूको राजनीतिक भाग्यको फैसला हुनेछ।

यस चरणसँग सम्बन्धित केही प्रमुख विषय र चुनावी मैदानमा रहेका दिग्गज नेताहरूबारे जानकारी लिऔँ। 

राहुल गान्धीः दोस्रो चरणमा वायनाड सिटमा मतदान भइरहेको छ। राहुल गान्धी केरलाको वायनाड सिटबाट दोस्रोपटक प्रतिस्पर्धामा छन्। सन् २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सिटबाट चुनाव लडेका थिए। अमेठीमा राहुल भाजपाकी स्मृति इरानीसँग हारेका थिए भने वायनाडबाट विजयी भएका थिए।

पछिल्लोपटक राहुल वायनाडबाट कीर्तिमानी मतले विजयी भएका थिए। यसपटक उनको प्रतिस्पर्धा सीपीआईका एनी राजा र भाजपा नेता के सुरेन्द्रनसँग छ।

एनी राजा सीपीआईको राष्ट्रिय कार्यकारिणी सदस्य हुन्। एनी पार्टीका महासचिव डी राजाकी पत्नी हुन्। उनी भारतीय महिला महासंघकी महासचिव पनि हुन्। सुरेन्द्रन भाजपा प्रदेश अध्यक्ष हुन्।

ओम बिरलाः लोकसभा अध्यक्ष ओम बिरला राजस्थानको कोटाबाट चुनाव लड्दै छन्। उनी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनको प्रतिस्पर्धा कांग्रेसका प्रह्लाद गुञ्जालसँग छ। प्रह्लाद पहिले भाजपामा थिए, अहिले कांग्रेसको टिकटमा चुनाव लडिरहेका छन्। यो सिटमा आज मतदान भइरहेको छ। 

शशि थरुरः दोस्रो चरणमा केरलाको तिरुवनन्तपुरम सिटमा पनि चासो छ। जहाँ कांग्रेसका दिग्गज नेता शशि थरुर सन् २००९ देखि लगातार विजयी भइरहेका छन्। यसपटक भाजपाले थरुरको विरुद्धमा केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरलाई उम्मेदवार बनाएको छ। सीपीआईबाट यहाँ पन्नियान रवीन्द्रन चुनावी मैदानमा छन्।

हेमा मालिनीः भाजपाले उत्तर प्रदेशको मथुराबाट हेमा मालिनीलाई फेरि विश्वास गरेको छ। हेमा मालिनी मथुरा लोकसभा सिटबाट दुईपटक लोकसभा पुगेकी छन्। हेमाले २०१४ मा आरएलडीका जयन्त चौधरी र २०१९ मा एसपी–बीएसपी–आरएलडी गठबन्धनका कुँवर नरेन्द्र सिंहलाई ठूलो अन्तरले पराजित गरेकी थिइन्।

यसपटक आरएलडी भाजपासँग छ। हेमा मालिनी कांग्रेसका मुकेश धनगरबाट चुनाव लड्दै छन्।

हेमा मालिनी र अरुण गोविल

अरुण गोविलः दोस्रो चरणमा उत्तर प्रदेशको मेरठ सिटमा पनि धेरैका आँखा छन्। यस सिटमा भाजपाले टिभी सिरियल रामायणमा श्रीरामको भूमिका निर्वाह गरेका अरुण गोविललाई उम्मेदवार बनाएको छ। भाजपाले तीनपटक सांसद निर्वाचित राजेन्द्र अग्रवालको स्थानमा अरुण गोविललाई सिट दिएको हो। 

मेरठ सिटमा समाजवादी पार्टीले दुई उम्मेदवार बदल्दै सुनिता बर्मालाई उठाएको छ। मेरठ नगरपालिकाकी अध्यक्ष सुनिताका पति योगेश बर्मा पूर्वविधायक हुन्। बीएसपीले देवव्रत त्यागीलाई उम्मेदवार बनाएको छ।

भूपेश बघेलः छत्तीसगढका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता भूपेश बघेल यस पटक राजनान्दगाउँबाट चुनाव लड्दै छन्। दोस्रो चरणमा यो सिटमा पनि मतदान भइरहेको छ। बघेलले वर्तमान सांसद सन्तोष पाण्डेसँग प्रतिस्पर्धा गर्दै छन् । भाजपा नेता तथा पूर्व मुख्यमन्त्री रमन सिंह र उनका छोरा अभिषेक सिंह पनि यस सिटबाट सांसद बनिसकेका छन्।

तेजस्वी सूर्या: तेजस्वी सूर्या बेंगलुरु दक्षिण सिटबाट चुनावी मैदानमा छन्। सन् २०१९ मा यस सिटबाट लोकसभामा पुगेकी तेजस्वी सूर्या दोस्रोपटक जित्ने तयारीमा छन्।

बेंगलुरु दक्षिण सिटमा दुई युवाबीच मात्र प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसले तेजस्वी सूर्याको विरुद्धमा सौम्या रेड्डीलाई उम्मेदवार बनाएको छ। गत विधानसभा चुनावमा सौम्या रेड्डी पराजित भएकी थिइन्। सौम्याका बुबा रामलिंगा कर्नाटक सरकारमा मन्त्री छन्।

बेंगलुरु दक्षिण सिीटबाट भाजपा नेता अनन्त कुमार ६ पटक विजयी भएका छन्। सन् २०१९ मा तेजस्वीले यस सिटबाट चुनाव लडे र कांग्रेस नेता बीके हरिप्रसादलाई ठूलो मतान्तरले पराजित गरे।

पप्पु यादवः दोस्रो चरणमा बिहारको पूर्णिया लोकसभा सिटमा पनि मतदान भइरहेको छ। यस सिटबाट पूर्वसांसद पप्पु यादव स्वतन्त्र उम्मेदवार बनेका छन्। बिहारमा विपक्षी दलहरूबीच सिट बाँडफाँड भएपछि यो सिट चर्चामा छ।

पप्पु यादवले आफ्नो जनअधिकार पार्टीलाई कांग्रेसमा विलय गराएका छन्। तर यी सिट विपक्षी गठबन्धनमा रहेको आरजेडीको खातामा छ। आरजेडीले यहाँबाट बिमा भारतीलाई उम्मेदवार बनाएको छ। यसपटक पूर्णियाको लोकसभा चुनावमा मतको ठूलो हिस्सा तीन उम्मेदवारमा बाँडिन सक्ने अनुमान गरिएको छ। जसमा तेस्रो उम्मेदवार जनता दल युनाइटेडका सन्तोष कुशवाहा छन्। सन्तोष कुशवाहा हाल पूर्णियाका सांसद पनि छन्।

रवीन्द्रसिंह भाटीः युवा नेता रवीन्द्रसिंह भाटी राजस्थानको बारमेर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै छन्। यो निर्वाचनमा उनको निकै चर्चा छ। उनको र्‍यालीमा ठूलो संख्यामा मानिस भेला भएका थिए। साथै गुजरातको सूरत र महाराष्ट्रको पुणेजस्ता सहरमा पनि उनको कार्यक्रममा ठूलो भीड देखिएको थियो। 

भाटी बारमेर जिल्लाको शिव सिटका विधायक हुन्। उनले भाजपा उम्मेदवारलाई स्वतन्त्र रूपमा पराजित गरेका थिए।

अहिले भाजपाका कैलाश चौधरी, जो केन्द्रमा कृषि र किसान कल्याण राज्यमन्त्री पनि यो लोकसभा सिटबाट चुनाव लडिरहेका छन्। कांग्रेसका उम्मेदवार चुनावी मैदानमा छन्। तर सबैभन्दा बढी चर्चा भाटीको भइरहेको छ। 

रवीन्द्रसिंह भाटी र तेजस्वी सूर्या

वैभव गहलोतः राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोतका छोरा र कांग्रेस नेता वैभव गहलोत यसपटक जालोर सिटबाट चुनाव लड्दै छन्। गहलोतले गत लोकसभा चुनावमा जोधपुरबाट चुनाव लडेका थिए। वैभवलाई भाजपाका उम्मेदवार र केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतले २.५ लाखभन्दा बढी मतले पराजित गरेका थिए। यसपटक पनि शेखावत जोधपुरबाट चुनाव लड्दै छन्।

यसपटक वैभव गहलोत त्यो सिट (जालोर) बाट चुनाव लडिरहेका छन्, जहाँ भाजपाले चारपटक विजयी हासिल गरिसकेको छ। सन् २००४ मा यहाँबाट सुशीला बंगारु निर्वाचित भइन् र त्यसपछिका तीन चुनाव २००९, २०१४ र २०१९ मा देवजी पटेल भाजपाबाट लोकसभामा पुगिन्।

भारतीय लोकसभा चुनावका मतदान सात चरणमा भइरहेको छ।

पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटमा मतदान भएको थियो। लोकसभा चुनावको नतिजा जुन ४ मा घोषणा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .