ad ad

समाज


केन्द्रीय सुरक्षा समिति : निर्वाचन सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समिति : निर्वाचन सुरक्षाबारे छलफल

नेपालखबर
असोज २६, २०७९ बुधबार १९:४१, काठमाडौँ

केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार दिउँसो गृह मन्त्रालयमा बसेको बैठकमा निर्वाचन सुरक्षाको विषयमा छलफल भएको छ। 

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्नेबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। 

निर्वाचनमा सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले ब्रिफिङ गरेका थिए। कहाँ कहाँ के सुरक्षा चुनौती छन्? ती चुनैतीलाई समाधानका उपायबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्टी गर्ने प्रस्ताव बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको छ। 

बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।

मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहतिको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ। त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन्। 

गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गर्ने गरी अगाडि बढ्ने रणनीति बनाउन सुरक्षा निकायलाई निर्देशन दिए।

समितिमा आएका तीन नयाँ सदस्यलाई स्वागत गरिएको थियो। गृहसचिव विनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका रथी सरोजप्रताप राणालाई बैठकमा स्वागत गरिएको थियो। 

गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन्।

बैठकमा केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पु¥याएको क्षतिको बारेमा पनि छलफल भएको छ। 

हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन गृहमन्त्रीले निर्देशन दिएका छन्। 

टोलीको समन्य गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेबारी दिएको  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालिन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने जनाएको छ।

बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .