ad ad

समाज


विमान दुर्घटना : नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह

विमान दुर्घटना : नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह

नेपालखबर
माघ १, २०७९ आइतबार २०:५४, काठमाडौँ

यती एयरलाइन्सले आज पोखरा सेती खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारले एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आज विज्ञप्ति जारी गरी दुर्घटनामा पर्ने यात्रुको परिवारका सदस्य वा आफन्तले जानकारीका लागि यती एयरलाइन्सको काठमाडौँ, पोखरा एयरपोर्ट र कल सेन्टरमा फोन गर्न आग्रह गरेका छन्।

यती एयरलाइन्सका अनुसार काठमाडौँ एयपोर्टको ०१४४९३९०१, पोखरा एयरपोर्टको ०६१५९७०५५ र कल सेन्टरको ०१५९७००७४ नं फोन गर्न सकिनेछ। आज बिहान १० बजेर ३२ मिनेट जाँदा काठमाडौँबाट पोखराका लागि उडेको सो विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा दुर्घटना भएको थियो।

विमानमा चालक दलका सदस्यबाहेक ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, दुई कोरियन, एक अर्जेन्टिना, एक अष्ट्रेलियन र एक फ्रान्सेली नागरिक रहेका थिए। हालसम्म ६९ जनाको शव फेला परेको सो एयरलाइन्सले जनाएको छ।

विमान दुर्घटनाको छानबिन गर्न नाट्टाको आग्रह
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले विमान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज शोक विज्ञप्ति जारी गरी आज बिहान काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइन एन एएनसी एटिआर ७२ विमान पोखरा विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ठूलो क्षति भएको भन्दै विमान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेका हुन्।

नाट्टाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएको छ।

अध्यक्ष थापाले दुःखद घटनामा परी दिवङ्गत हुने चालक दलका सदस्यलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।

नाट्टाले आगामी दिनमा थप सतर्कता अपनाउन र यात्रुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि मागसमेत गरेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .