ad ad

समाज


दलितलाई अपमान गर्ने गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग

दलितलाई अपमान गर्ने गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग

नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:५६, सर्लाही

दलित समुदायलाई अपमानित गर्ने सिरहाको भगवानपुर गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गर्दै संयुक्त दलित मोर्चाले शनिबार गोलबजारमा प्रदर्शन गरेको छ।

सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले सार्वजनिक स्थानमा दलित समुदायलाई छुवाछूतको व्यवहार गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। 

अध्यक्ष यादवलाई कानुनी कारबाहीको माग गर्दै शनिबार मोर्चाले गोलबजारमा प्रदर्शन गरेको हो। प्रदर्शन पछिको कोणसभामा बोल्दै बक्ताहरुले दलित समुदायलाई छोइछिट्टो गरिनु कानुनी अपराध भएकोले नेपालको संविधान र कानुन बमोजिम अध्यक्ष यादवलाई हदैसम्मको कार्वाही गर्नुपर्ने माग गरे। 

 ‘भागवानपुर घटना देशका ६० लाख दलितहरुप्रतिको अपमान हो,’ मोर्चाका मधेश प्रदेश संयोजक शिवकुमार महराले भने,  ‘यो सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपनको विषय हो। घटनाको गहन छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गरिनु पर्छ।’

उनले कानुनको रक्षा र कार्यान्वयन गर्नुपर्ने व्यक्ति र संस्थाहरुले नै दलितमाथि विभेद गर्नु दुःखद् भएको बताए। 

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका पूर्व सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरि कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताइन्। 

पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भगवानपुर घटना मेलमिलाप गर्ने खालको नभएकोमा जोड दिए।  ‘यो घटना ६० लाख दलितहरुप्रतिको अपमान हो,’ उनले भने।

नेकपा (एमाले)का जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले यहि फागुन २२ गते आफ्नी आमाको मृत्युको १३ दिने भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार नै टाँगेर छुट्टाछुट्टै बसेर खाने व्यवस्था गरेका थिए।

उक्त भोजमा एमालेक सांसद, पूर्वमन्त्री, वर्तमान प्रदेशमन्त्री, सीडीओ, जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको पनि सहभागिता थियो।

गाउँपालिका अध्यक्षले दलित समुदायलाई छोइछिटोको व्यवहार गरेको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .