हाल नेपालका पूर्वी र मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा राति कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन लुम्बिनी प्रदेशको अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिम भागबाट पनि हटिसकेको छ।
अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ।
पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वैबाट बाहिरिन्छ।
यस वर्ष मनसुन सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो।
मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।
यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
माैसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।
डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया