जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’ जारी गरेको छ।
महाशाखाले आज साँझ ६ बजेदेखि भोलि बुधबार साँझ ६ बजेसम्मका लागि चेतावनी जारी गर्दै चिसोबाट बच्ने उपाय अपनाउन सुझाव दिएको हो।
महाशाखाले २४ घण्टे चेतावनीमा भनेको छ : देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
यस्तै भोलि बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भेगमा आंशिक बदली रही तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महााशखाले जनाएको छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
Shares
प्रतिक्रिया