समाज


पतिको ‘रहस्यमय’ मृत्युपछि मिटरब्याजविरोधी अभियन्ता बनेकी सरस्वती

सरकारी जागिर छाडेर लागिन् डाचाराजकै अभियानमा
पतिको ‘रहस्यमय’ मृत्युपछि मिटरब्याजविरोधी अभियन्ता बनेकी सरस्वती

जनार्दन पोखरेल
माघ २१, २०८० आइतबार २१:२, काठमाडौँ

डाचाराज वाग्ले बाँचिरहेका हुन्थे भने यतिबेला सरस्वती मिश्र महोत्तरीको बर्दिबास नगरपालिका– १ मा रहेको पञ्चधुरा आधारभूत विद्यालयमा बालबालिकालाई पढाइरहेकी हुन्थिन्। 

मिटरब्याजविरोधी अभियान सञ्चालन गर्दै आएका सरस्वतीका पति वाग्लेको ०७७ माघ २१ गते राति सर्लाहीको बरहथवा जंगलमा भएको रहस्यमय सवारी ‘दुर्घटना’मा मृत्यु भएपछि उनको जीवनको लय र गन्तव्य बदलियो।

लोकप्रिय नेता वाग्ले केपी ओली र प्रचण्ड नेतृत्वको तत्कालीन नेकपाको सर्लाही जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य थिए। सरस्वती गाउँकै विद्यालयमा प्रधानाध्यापक थिइन्। स–साना नानीबाबुको पढाइ-लेखाइमा ध्यान दिनु सरस्वतीको मुख्य कर्तव्य थियो। 

जेठा छोरा प्रज्वलराज एमबीबीएस सकेर जर्मनीमा एमडी गर्दै थिए। कान्छो छोरा प्रलयराज काठमाडौँमा प्लस टु पढ्दै थिए। दुई छोराको पढाइ सोचेजसरी नै अघि बढ्दै थियो।

छोराहरूले उच्च शिक्षाको लागि घर छाडेका भए पनि दुःखसुखमा साथ दिने र मनको कुरा बुझ्ने पति सँगै थिए। उनलाई आफ्नो पारिवारिक जीवन निकै रमाइलो र सुन्दर लाग्थ्यो। तर, जीवन आफूले सोचेजसरी कहाँ अघि बढ्दो रहेछ र?

पतिको मृत्यु भएको तीन वर्ष बित्दै गर्दा यतिबेला सरस्वती पञ्चधुरा स्कुलकी प्रअका रूपमा छैनन्। स–सना नानीबाबुकी गुरुआमाबाट उनको परिचय अहिले ‘मिटरब्याज विरोधी अभियन्ता’मा बदलिएको छ।

अचेल उनी सुदखोरको मिटरब्याजले उठिवास भएका गरीबका झुपडी र मधेसका गरीब-दुःखीका बस्तीमा भेटिन्छिन्। 

कहालीलाग्दो माघ २१ को त्यो रात
२०७७ माघ २१ गते बिहान सरस्वती र डाचाराज सबेरै उठे।

सरस्वती नियमित योग-ध्यान गर्थिन्। उमेरले डाचाराज ५२ वर्षमा हिँड्दै थिए। तर, उनलाई योग-ध्यानतिर त्यति रुचि थिएन। घरमा सँगै भएका बेला सरस्वती पतिलाई पनि आफूसँगै योग ध्यानमा बस्न आग्रह गर्थिन्।

‘अब शरीर युवा अवस्थाको जस्तो छैन, स्वस्थ र निरोगी हुन योगध्यान गर्नुपर्छ, खानपानमा ध्यान दिनुपर्छ’ १७ वर्षको उमेरमै डाचाराजको घरमा भित्रिएकी सरस्वती पतिलाई सम्झाउँथिन्।

त्यसरी सम्झाउन थालेको पनि २५ वर्ष भइसकेको थियो।

घरमा पुगेका बेला जाँगर चल्यो भने डाचाराज पनि पत्नीसँगै योग-ध्यानमा बसिदिन्थे। त्यस दिन पनि उनीहरूले सँगै योगध्यान गरे।

बिहानको खाना खाएपछि डाचाराज र सरस्वती घरबाट आआफ्नो गन्तव्यतिर लागे। डाचाराज मोटरसाइकल चढेर बर्दिबासबाट पार्टी कामको लागि भन्दै सर्लाहीतिर हुँइकिए। सरस्वती घरनजिकैको विद्यालयतिर लागिन्। जहाँ उनलाई स–साना नानीबाबु ‘गुरुआमा गुड मर्निङ’ भन्न पर्खिरहेका थिए।

दिनभरि सरस्वती र डाचाराज आफ्नै जिम्मेवारीमा व्यस्त भए। एकअर्कालाई फोन सम्पर्क पनि गरेनन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध नेकपाकै विरोधी खेमाले भोलिपल्ट देशव्यापी आम हड्ताल आह्वान गरेको थियो। त्यसको नेतृत्व हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र हालका एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले गरेका थिए।

भोलिपल्ट (माघ २२ गते) देशव्यापी आम हड्ताल थियो। पार्टीको जिल्ला इन्चार्ज भएका नाताले सर्लाहीमा माघ २१ गते साँझको मसाल जुलुस र भोलिपल्टको आम हड्ताल सफल पार्ने मुख्य जिम्मेवारी डाचाराजकै काँधमा थियो। 

पार्टीको अभियानमा खटिएका बेला प्रायः चाडाराज राति ढिलो मात्रै घर पुग्थे। बैठक, भेला, भेटघाटजस्ता कामले उनलाई अबेलासम्म कार्यक्षेत्रमै अल्झाउँथ्यो।

१५–१६ वर्षको किशोरावस्थादेखि ५२ वर्षको उमेरसम्म एकनासले वाग्लेको यो क्रम चलिरहेको थियो। पार्टीका बैठक सकिएपछि कहिलेकाहीँ त उनी राति ११/१२ बजे पनि मोटरसाइकल लिएर ४०–५० किलोमिटर टाढाबाट पनि घरतिर हुइँकिन्थे।

ढिलोगरी घर जाँदा प्रायः उनी खाना खाएरै जान्थे। 

त्यो दिन बिहान सँगै खाना खाँदा उनले पतिको मुखबाट पार्टी कामको व्यस्त कार्यतालिका सुनेकी थिइन्। आज पनि डाचाराज चाँडै घर आउँदैनन् भन्नेमा सरस्वती ढुक्क थिइन्। २५ वर्ष लामो वैवाहिक जीवन सँगै बिताएको कारण पनि उनलाई पतिको कार्यशैली, आनीबानी, पार्टीको काम, व्यस्तता सबै थाहा थियो। 

दिनभरि काममा व्यस्त हुँदा उनीहरू प्रायः एकअर्कालाई फोनसमेत गर्दैनथे। साँझ भेट भएपछि मात्रै दिनभरि गरेका कामको समीक्षा हुन्थ्यो। एकअर्कालाई सुझाव-सल्लाह दिन्थे। ठीक- बेठीक औल्याउने काम हुन्थ्यो।

मध्य जाडोको बेला थियो। माघ २१ गते राति ९ बज्दा पनि डाचाराज घर पुगेनन्। खाना खानुअघि सरस्वतीले फोन लगाइन्। घण्टी गयो तर फोन उठेन।

उनले डाचाराज बाइकमा भएकाले मोबाइल बजेको नसुनेका होलान् भन्ने ठानिन्।

कहिलेकाहीँ त्यस्तो भएको पनि थियो। 

त्यतिबेलै जर्मनीबाट जेठा छोरा डा. प्रज्ज्वलराजले फेसबुक म्यासेन्जरमा कल गरे, ‘आमा, बुवाले फोन किन नउठाउनुभएको?’

उनले आफूले पनि बुवालाई फाेन गरेको तर नउठेको जानकारी छोरालाई दिइन्। 

छोरासँगको छोटो कुराकानी सकेर फेरि उनले पतिलाई नै फोन लगाइन्। त्यतिबेला रातिको ९:२० भइसकेको थियो। दोस्रोपटक कल गर्दा भने फोन उठ्यो। फोन उठ्नेबित्तिकै उनले ‘यो जाडोमा घर आउन किन यति ढिलो गर्नुभएको?’ भन्ने प्रश्न गरिन्। तर, फोनमा उताबाट डाचाराज बोलेनन्। 

फोन उठाउने व्यक्तिले ‘म इलाका प्रहरी कार्यालय, बरहथवाबाट डीएसपी उद्धवसिंह भाट बोलेको’ भने।

त्यसपछि उनको मनमा चिसो पस्यो। उनले फोन उठाउने डीएसपी भाटलाई सोधिन्, ‘यो फोन बोक्ने मान्छे खोइ त?’ 

जवाफ आयो, ‘उहाँ अस्पतालमा हुनुहन्छ।’

त्यसपछि उनका हातगोडा लुला भए। शरीर काँप्न थाल्यो। वाक्य फुटेन। के भन्ने, के नभन्ने?

काँपेकै स्वरमा उनले सोधिन्, ‘अवस्था कस्तो छ?’

ती प्रहरी अधिकारीले प्रस्ट जवाफ दिएनन्।

‘उहाँ सवारी दुर्घटनामा पर्नुभएको छ, अस्पतालमा हुनुहुन्छ’ यत्ति भनेर उनले फोन काटे।

उनी सर्लाही जान हतारिइन्।

कुनै सवारी साधन साथमा थिएन। बर्दिबासमै रहेका डाचाराजका साथी (पार्टीका नेता)हरूलाई फोन लगाइन्। 

केहीबेरमै बर्दिबास नगरपालिकाका तत्कालीन प्रमुख विदुर कार्की, प्रकाश पोखरेल, राजु खड्कासहितका नेता गाडी लिएर सरस्वतीकाे घरमा पुगे। सबैजना निराश देखिन्थे। कोही बोलिरहेका थिएनन्।

सरस्वती पनि हतारिँदै गाडीमा बसिन्। उनीहरू चढेको गाडी चकमन्न अँध्यारोमा माघको चिसो सिरेटोलाई चिर्दै पूर्वपश्चिम राजमार्ग हुँदै सर्लाहीतिर अघि बढ्दै थियो। तर, गाडीभित्र डलाग्दो मौनता थियो।

त्यो मौनतालाई चिर्दै सरस्वती बोलिन्, ‘तपाईंहरू सबै चुपचाप हुनुहुन्छ। कुरो के हो? उहाँको अवस्था कस्तो छ? मलाई भन्नूस्।’

सरस्वतीको जिज्ञासामा प्रकाश पोखरेलले छोटो वाक्य बोले, ‘सरस्वतीजी, अस्पताल जाऊँ न पहिला, अहिले नै धेरै कुरा नगरौँ।’ 

‘तपाईंहरू म आत्तिन्छु भनेर यथार्थ लुकाइरहनुभएको छ। उहाँलाई सुदखोरहरूले मारिसकेजस्तो छ,’ अनायासै उनले त्यति वाक्य बोलिन्।

गाडीमा भएका अरू सबै चुप थिए, चुप नै रहे।

राति सवा १० बजेतिर उनीहरू प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको प्रांगणमा पुगे।

अस्पताल परिसरमा सयौँको संख्यामा मानिसहरू भेला भइसकेका रहेछन्। सरस्वती स्वास्थ्य केन्द्रको इमर्जेन्सी वार्डतर्फ अघि बढिन्। भित्र पस्नासाथ उनले बेडमा चाडाराजको शव लडिरहेको देखिन्। जिउमा कुनै कपडा थिएन। त्यो दृश्य उनले धेरैबेर हेर्न सकिनन्। 

घटनालगत्तै प्रहरीले डाचाराजको मृत्यु मोटरसाइकल दुर्घटनामा भएको सूचना सञ्चारकर्मीलाई दिइसकेको थियो। वाग्ले सवार मोटरसाइकल कुनै सवारी साधनसँग ठोक्किँदा वा कुनै सवारीले उनको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा वाग्लेको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान थियो।

एकान्त जंगल क्षेत्रमा रातिको समयमा भएको त्यो घटना देख्ने प्रत्यक्षदर्शी भने कोही थिएनन्। 

वाग्ले आबद्ध पार्टी तत्कालीन नेकपा र उनका परिवारजनले भने उनकाे सुनियोजित हत्या भएको दाबी गरे। प्रहरीको भनाइमा सत्यता नभएको बताए। सर्लाहीमा मिटरब्याजविरोधी संघर्षको नेतृत्व गर्दै आएका वाग्ले सुदखोरहरूको षड्यन्त्रको शिकार भएको अनुमान उनीहरूको थियो। 

तत्कालीन नेकपाको सर्लाही जिल्ला कमिटीले आफ्ना जिल्ला इन्चार्ज वाग्लेको मृत्युलाई रहस्यमय भन्दै छानबिनको माग गर्‍याे। पछि माओवादी केन्द्रले नेता प्रल्हाद बुढाथोकीको संयोजकत्वमा पार्टीको तर्फबाट छानबिन समिति पनि बनायो। समितिले घटनालाई रहस्यमय भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन पार्टी नेतृत्व र तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई बुझायो। 

घटनाको तीन दिनपछि सर्लाहीको कर्मैयास्थित बागमती नदी किनारमा वाग्लेको पार्थिव शरीरको अत्येष्टि गरियो। हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाग्लेको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाउँदै गर्दा ‘भवितव्य नभएर सुनियोजित ढंगले वाग्लेको हत्या भएको’ भनेका थिए।

श्रेष्ठकै प्रस्तावमा गएको पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई सहिद घोषणा गरेको छ।

घटनाको १३ दिनपछि वाग्लेको पुर्ख्यौँली घर सर्लाहीको हरिपुर नगरपालिका-१, हजारबिघामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (तत्कालीन नेकपाका अध्यक्ष) र तत्कालीन नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पनि वाग्लेको ज्यान जाने गरी भएको घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका थिए। 

पछि सीआईबीले पनि घटनाको छानबिन गर्‍यो। सीआईबीले घटनाको छानबिनपछि ‘उखु बोकेको ट्रयाक्टरमा वाग्ले सवार मोटरसाइकल ठोक्किँदा मृत्यु भएको’ निष्कर्ष दियो। तर, अझै पनि सरस्वतीसहित वाग्लेका परिवारजन भने उनकाे मृत्यु भवितव्य दुर्घटनाबाट भएकाे हो भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन्। 

डाचाराज वाग्ले ८/९ कक्षा पढ्दादेखि नै गरीब, श्रमजीवी वर्गको मुक्तिका लागि भनेर कम्युनिस्ट आन्दोलनमा लागे। ०५२ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका उनले झण्डै ४० वर्ष कम्युनिष्ट आन्दोलनमा बिताए। राजनीतिक र सामाजिक आन्दोलको नेतृत्व गरिरहेका बेला रहस्यमय दुर्घटनामा उनी बिते। 

वाग्लेको मृत्यु भएको तीन वर्ष पुग्दासम्म सरस्वतीले भने आफ्नो फरक पहिचान निर्माण गरेकी छन्।

आफ्ना पतिको ज्यान जाने गरी भएको त्यस घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसहित मिटरब्याजविरोधी अभियानमा लागेकी उनले यसबीचमा सर्लाही, महोत्तरीलगायतका जिल्लामा भएका धेरै मिटरब्याजविरोधी संघर्षको नेतृत्व गरिसकेकी छन्।

यसबीचमा उनले सुदखोरले कब्जा गरेका घरका ताला फोड्नेदेखि, जिल्ला प्रशासन कार्यालय घेराउसम्मका न्यायिक आन्दोलनको अगुवाइ गरिसकेकी छन्। पीडितलाई लिएर धेरैपटक काठमाडौँ धाइन्, राजनीतिक नेतृत्वदेखि मन्त्री र सांसदहरूलाई भेटेर पीडितका पक्षमा वकालत गरिन्। पीडितलाई न्याय दिनेगरी कानुन निर्माण गर्न आग्रह गरिन्।

सुदखोरविरोधी अभियान र शिक्षण पेसा सँगसँगै अघि बढ्ने अवस्था नदेखेपछि उनले ०७८ मंसिरमा सरकारी विद्यालयको प्रअबाट राजीनामा दिइन्। हाल उनी पूर्णरूपमा सामाजिक र राजनीतिक अभियानमा क्रियाशील छिन्। 

‘२०७६ मा सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी र रामबाबु यादवका कर्तुत पर्दाफास गर्ने अभियान डाचाजीकै अगुवाइमा भएको थियो,’ नेपालखबरसँग उनले भनिन्, ‘जुन अभियानले यतिबेला राष्ट्रिय मान्यता पाइसकेको छ। सरकारले आयोग नै गठन गरेर मिटरब्याज (अनुचित लेनदेन)को छानबिन अघि बढाएको छ। आयोगमा परेका २८ हजार उजुरीमध्ये पाँच हजार पीडितले न्याय पाइसकेका छन्।’ 

सरस्वती पतिको मृत्युले विक्षिप्त थिइन्। तर, आफूले विद्यालयमा जागिर मात्रै खाएर बस्यो भने आफ्ना पतिको सन्देहपूर्ण मृत्युको छानबिनसमेत हुँदैन कि भन्ने डर उनलाई भयो।

‘डाचाजीलाई न्याय दिलाउने अभियानमा लाग्ने क्रममा म उहाँले नै सुरु गर्नुभएको मिटरब्याजविरोधी अभियानमा जोडिन पुगेँ। त्यही क्रममा शिक्षक पदबाट राजीनामा दिएँ। मिटरब्याजको चंगुलमा परेर घरबारविहीन भएकाहरूको न्यायका लागि डाचाजीले सुरु गर्नुभएको अभियानलाई अगाडि बनाउन मैले यो गर्नैपर्थ्यो।’

हाम्रो समाजमा एकल महिलालाई सामाजिक-राजनीतिक अभियानमा हिँड्न सहज छैन। त्यसमाथि छँदाखाँदाको सरकारी जागिरबाट राजीनामा दिएर अभियानमा लागेको भन्दा धेरैलाई त्याे कार्य मूर्खता पनि लाग्न सक्छ।

‘मैले पनि त्यो खालको अवस्था बेहोरेँ,’ सरस्वतीले भनिन्, ‘डाचाजीको मृत्युपछि यस अभियानमा लाग्दा सुरुमा आफन्तबाट भनेजस्तो सहयोग मैले पनि पाइनँ। तर, छोराहरूले भने बुवाको राजनीतिक, सामाजिक अभियानलाई अघि बढाउन मलाई निरन्तर प्रोत्साह गरिरहेका छन्।’

अचेल एक दिन कतै अभियानमा नगई घरमै बस्दा छोराहरूले नै सोध्छन्, ‘आज कुनै कार्यक्रम छैन आमा?’

‘शिक्षण पेसामा हुँदा डाचाजीले पनि मलाई अरू सामाजिक काममा लाग्न यसैगरी प्रोत्साहन गर्नुहुन्थ्यो,’ उनी सुनाउँछिन्। 

यतिबेला उनीसँग दुःखसुख साटासाट गर्ने पति छैनन्। तर, डाचाराजले छाडेर गएको उज्यालो राजनीतिक र सामाजिक विरासत उनीसँग छ।

‘सुदखोरको शोषणमा परेर घरबारविहीन भएका हजारौँ निमुखा अहिले हाम्रो साथमा हुनुहुन्छ,’ उनले भनिन्, ‘म उहाँहरूको न्यायको अभियानमा लाग्न सकेँ भने मात्रै डाचाजीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मेराे ‍बुझाइ छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .