समाज


स्वास्थ्यमन्त्रीलाई बीपीका रजिस्ट्रारको पत्रः सिनेटको सदस्यसचिव म हुँ, एजेन्डाबारे जानकारी छैन

स्वास्थ्यमन्त्रीलाई बीपीका रजिस्ट्रारको पत्रः सिनेटको सदस्यसचिव म हुँ, एजेन्डाबारे जानकारी छैन

जनार्दन पोखरेल
माघ २८, २०८० आइतबार २१:५५, काठमाडौँ

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद संग्रौलाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेखेर प्रतिष्ठानका कायम मुकायम कुलपति प्राडा प्रल्हाद कार्कीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार संग्रौलाले मन्त्री बस्नेतलाई पत्र लेखेर भोलि (सोमबार) स्वास्थ्य मन्त्रालयमा बस्ने भनेको प्रतिष्ठानको सिनेटको एजेण्डाबारे आफूलाई कार्कीले केही जानकारी नगराएको गुनासो गरेका हुन्।

रजिस्ट्रार संग्रौलाले आफ्नो अख्तियारी एक महिनाअघि नै कार्कीले फिर्ता गरेको गुनासो पनि पत्रमा गरेका छन्।

प्रतिष्ठानको कार्यकारिणी समितिमा कुनै छलफल नै नगरी कार्कीले सिनेट बैठक बोलाएपछि प्रतिष्ठानका पदाधिकारीबीच विवाद थप बढ्ने देखिएको छ।

सिनेट बैठकअघि उपकुलपति, रेक्टर, रजिस्ट्रार, अस्तपताल निर्देशकसहित प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसेर सिनेटका एजेन्डा तय गर्नुपर्नेमा कार्कीले आफूखुसी बैठकका एजेन्डा तय गरेर सिनेट बोलाएको भन्दै उनले भोलि बस्ने सिनेट बैठकको वैधतामा समेत प्रश्न गरेका छन्।

उनले पत्रमा लेखेका छन्, ‘मलाई आजका दिनसम्म पनि सञ्चालक परिषदको सभामा प्रस्तुत गर्नुपर्ने कुनै एजेण्डाहरू प्राप्त हुन नसकेको अवस्था छ। सञ्चालक परिषद (सिनेट)मा छलफल तथा निर्णयका लागि प्रस्तुत गरिने विषयवस्तुहरू (एजेन्डा) कार्यकारिणी समितिबाट स्वीकृत हुनपर्ने व्यवस्था रहेको छ। तर हालसम्म सञ्चालक परिषदमा प्रस्तुत गर्ने एजेन्डाहरू कामु उपकुलपतिज्यूबाट कार्यकारिणी समितिका सदस्य-सचिवलाई उपलब्ध गराउनु नभएको अवस्था छ।’

कायममुकायम उपकुलपति कार्कीले प्रतिष्ठानमा भएको ठूलो आर्थिक अनियमिततालाई वैधता दिन हताारहतार आनदोलनरत शिक्षक र कर्मचारीसँग सहमति गरेर सिनेट बैठक बोलाएको आरोप असन्तुष्ट पक्षले लगाएको छ।

प्रतिष्ठानमा आर्थिक र प्रशासन प्रमुख रजिस्ट्रार हुने कानुनी व्यवस्था छ। तर, एक महिनाअघि नै आफूलाई कुनै जानकारी नदिई कार्कीले सबै अख्तियारी फिर्ता लिएको गुनसो संग्रौलाले पत्रमा गरेका छन्।

प्रतिष्ठानको सिनेट बैठक सोमबार बोलाइएको छ।

हेर्नुहोस् रजिस्ट्रार संग्रौलाले स्वास्थ्यमन्त्रीलाई लेखेको पत्र

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .