त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न समिति बनाएको छ।
विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको त्रिवि रजिस्टारको कार्यालयले जनाएको छ। उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने त्रिविको विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो।
त्रिविले यही चैत २१ गते तत् तत् विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित गरिसकेको छ।
उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी छानबिन समितिले ३० दिन भित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आज (चैत १५ गते) निर्णय गरेको हो।
Shares
प्रतिक्रिया