समाज


९ हजारको ज्यान लिने विनाशकारी गोरखा भूकम्प गएको ९ वर्ष पूरा

९ हजारको ज्यान लिने विनाशकारी गोरखा भूकम्प गएको ९ वर्ष पूरा

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ६:५९, काठमाडौँ

नौ हजारको ज्यान लिने र २२ हजारभन्दा धेरैलाई घाइते बनाउने बिनाशकारी गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको छ। 

२०७२ साल वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। 

यो बिनासकारी भूकम्पबाट आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। 

भूकम्पको कारण २२ हजार भन्दा धेरै नागरिक घाइते भए। भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो। 

भूकम्पबाट ३२ जिल्लामा क्षति पुगे पनि गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो।

गोरखा भूकम्पबाट करिब सात खर्ब छअर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो। 

गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभागले आज काठमाडौँमा बृहत् फोटो प्रदर्शनी गर्दैछ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा नौ वर्षअघिको गोरखा भूकम्पसहित डोटी, बझाङ र जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश गरिने विभागले जनाएको छ। 

फोटो प्रदर्शनीको माध्यमबाट जनतालाई भूकम्पप्रति सचेत रहन सन्देश दिने उद्देश्य छ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो।

विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .