टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।
अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ। अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन्।
राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालप्रति शुभकामना व्यक्त गरेका छन्।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट टर्कीएका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीएका जनताको निरन्तर प्रगतिको कामना गरेका छन्।
राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए।
साथै उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। रासस
Shares
प्रतिक्रिया