ad ad

समाज


विराटनगर र जनकपुरमा भन्दा काठमाडौँमा बढी गर्मी!

विराटनगर र जनकपुरमा भन्दा काठमाडौँमा बढी गर्मी!

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १८:४४, काठमाडौँ

पूर्वी तराई-मधेसमा भन्दा शुक्रबार (जेठ ३२ गते) काठमाडौँ उपत्यकामा बढी गर्मी भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार शुक्रबार कोसी प्रदेशको तराई क्षेत्रमा पर्ने विराटनगर र मधेस प्रदेशको जनकपुरमा भन्दा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम बढी ३३.४ डिग्री सेल्सियस देखिएको हो। 

शुक्रबार विराटनगरमा अधिकतम तापक्रम २८.४ तथा जनकपुरमा ३३.२ डिग्री सेल्सियस छ।

मौसमविद्का अनुसार पूर्वी तराईमा मनसुनका कारण तापक्रम घटेको हो भने काठमाडौँ उपत्यकामा अझै मनसुन प्रवेश गरिनसकेकाले तथा अन्य मौसम प्रणालीले पनि खासै मौसम बदली (आकाशमा बादल) तथा वर्षा गराउन नसक्दा गर्मी बढेको हो।

यस्तै शुक्रबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम पनि यस वर्षको अहिलेसम्मकै बढी देखिएको छ। 

मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २३ डिग्री सेल्सियस देखिएको हो।

यो उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै बढी न्यूनतम तापक्रम हो। यसअघि २२ डिग्री सेल्सियसम्म मात्र पुगेको थियो। 

शुक्रबार देशभरिमा सबैभन्दा बढी अधिकतम तापक्रम बाँकेको नेपालगन्जमा ४३.२ डिग्री सेल्सियस देखिएको छ। 

यसपछि अधिकतम तापक्रम क्रमशः कैलालीको धनगढीमा ४२.७, डोटीको दिपायलमा ४१.६ र सुर्खेतको वीरेन्द्रनगरमा ४०.९ डिग्री सेल्सियस मापन भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ।

यसबाहेक देशका अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल नै छ।    

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .