ad ad

समाज


रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

नेपालखबर
असार १०, २०८१ सोमबार १८:२८, काठमाडौँ

तपस्वी भनेर चिनिएका एक युवक रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्।

सर्लाही जिल्ला अदालतले उनलाई सोमबार दोषी ठहर्ने फैसला गरेको हो। 

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गते पेसी तोकेको छ।

यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।

यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो।

के थियो आरोप?
आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। 

एकजना पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो। उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन्। तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९:१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे।

कोठाको ढोकाको चुकुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउनसमेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपी पटकपटक यौन सम्पर्क राखी यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ।

ती किशोरीले आफूमाथि पटकपटक यौन शोषण गरेपछि आफू आश्रमबाट भागेको बताएकी छन्। आश्रमबाट भागेर उनी काठमाडौं पुगेकी थिइन्। त्यसपछि उनी काठमाडौंमै बसिन्।

पछि कागज गराउँदा सोही आश्रममा रहेकी अर्की महिलाले पनि घटना लगतै पीडितले आफूलाई सुनाएको बताएकी थिइन्। 

पीडितले आफूलाई बम्जनले दिएको पीडा र यौन शोषण सहन नसकी आफू आश्रमबाट भागेको बताएका उनले बयानका क्रममा भनेकी थिइन्।

बम्जनको इन्कारी
अदालतमा उपस्थित गराएर बयान गराउँदा बम्जनले आफूमाथि लागेका आरोपको इन्कार गरेका थिए। बम्जनले अदालतमा आफू २०६२ सालको जेठ महिनादेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिब १० महिना ध्यान गरेको बताएका थिए। १० महिना पिपलको रुखमुनी बसेर ध्यान गरेपछि ज्ञान प्राप्त गरेको उनले बयान दिएका छन्।

त्यसपछि बारा जिल्लाकै हलखोरी जंगलमा करिब ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उनले बताएका छन्।

त्यहाँबाट सिन्धुलीको पहिरेमा जंगलको बीचमा रहेको आश्रममा ध्यान गरेको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा गएर बसेको उनले बयानका क्रममा भनेका छन्।

‘मैले ध्यान गर्ने ठाउँमा अरु कोही पनि रहँदैनथे। मेरो साथमा १/२ जना नजिकका चेलाहरू रहन्थे। उनीहरूको नाम अहिले याद छैन। उक्त ध्यानस्थल तथा आश्रममा बसेको अवधि यकिन रुपमा याद भएन। म ध्यानका लागि बसेको स्थानमा आस्थाले मानिसहरू आउने र जाने भिडभाड रहन्थ्यो। तर उनीहरूसँग मेरो दोहोरो संवाद भने हुने गरेको थिएन’, बम्जनको बयान छ।

थुनामा पठाउने आदेश
बम्जनले अदालतमा बयान गर्दा इन्कार गरे पनि उनले कसुर नगरेको भन्ने अवस्था नदेखिएको भन्दै गत पुस २६ गते सर्लाही अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

‘प्रतिवादीले यस अदालतमा बयान गर्दा कसुरमा इन्कार गरेपनि प्रतिवादी उपरको किटानी जाहेरी दरखास्त, घटना विवरण कागज गर्ने व्यक्तिहरुले खुलाइदिएको व्यहोरो, पीडित जाहेरवालाले अनुसन्धान अधिकृतसमक्ष मौकामा गरेको बयान समेतका तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जन अहिले नै कसुरदार होइनन् भनिहाल्न सकिने अवस्था देखिएन’, आदेशमा भनिएको थियो।

‘पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई बम्जनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न सिदा खान पाउने गरी नजिकको कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनू’, आदेशमा उल्लेख थियो।

उनलाई महोत्तरीको जलेश्वर कारागार राखिएको छ।

अरू पनि छन् मुद्दा
बम्जनविरुद्ध अर्को मुद्दा गृहजिल्ला बारामा पनि छ। 

बाराको रतनपुरी जंगलस्थित आश्रमबाट थप अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी छ।

बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए। 

बमजन गत पुस २४ गते साँझ काठमाडौंको हात्तीगौंडास्थित एक घरबाट पक्राउ परेका थिए। आफूलाई लिटिल बुद्ध बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो। विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबर हुन्थ्यो।

खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो। नेपाली र विदेशी मुद्रा जोड्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ हुन्थ्यो। 

के हो बाल यौन दुर्व्यवहार?
जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीका अनुसार बमजनले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर भएको छ।

दफामा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ। उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था उल्लेख गरिएको छ।

र, उपदफा (३) 'छ' मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ।

यस कसुरमा जबरजस्ती करणीसहर सजाय हुने दफा ७२ (३) 'छ' मा उल्लेख छ।

अधिकारीका अनुसार, बमजनलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुन सक्नेछ। मुलुकी अपराध संहिता, २०७४ मा १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी भए १२ देखि १४ वर्ष कैद सजाय हुने व्यवस्था छ। 

नेपालमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिएको छ। यस उमेरसमूहका व्यक्तिको मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार वा विवाह गर्न कानुनले वर्जित गरेको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .