ad ad

समाज


लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

नेपालखबर
साउन १०, २०८१ बिहिबार १७:२८, काठमाडौँ

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ।

बिहीबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि असार ३१ गते उनलाई कायममुकायम मुख्यसचिव मुकरर गरिएको थियो।

गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव भएकी छन्। मुख्यसचिव निजामती प्रशासनको सर्वोच्च पद हो।

गत असार ९ गते मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी थिइन्।

कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ।

यी हुन् गड्तौला
गड्तौला प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत थिइन्। २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी उनी २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्।

२०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन्। कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन्। गड्तौलाले भने न्यायाधीशमा रूचि नदेखाएको उनका समकालीनहरू बताउँछन्।

गड्तौला कानुन तर्जुमा र लैंगिक न्यायका विषयमा विशेष दख्खल राख्छिन्। न्याय सेवा आयोगको अभिलेखअनुसार उनको स्थायी ठेगाना सोलुखुम्बु हो। उनका श्रीमान् मात्रिका निरौला वरिष्ठ अधिवक्ता छन्। उनले कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गरेकी छन्।

गड्तौला आउँदो भदौबाट ५८ वर्षे उमेर हदले अवकाश पाउँदै छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .