ad ad

समाज


धौलागिरिमा ५ रुसी आरोहीको मृत्यु : ८ हजार मिटरबाट टोलीकै सदस्यले भनेका थिए- अब झरौँ

धौलागिरिमा ५ रुसी आरोहीको मृत्यु : ८ हजार मिटरबाट टोलीकै सदस्यले भनेका थिए- अब झरौँ

धौलागिरिमा आरोहण दल। तस्बिर सौजन्य : आईएम ट्रेकिङ एन्ड एक्सपिडिसन


नेपालखबर
असोज २२, २०८१ मंगलबार २०:३९, काठमाडौँ

गत भदौ तेस्रो साता काठमाडौँबाट धौलागिरि शिखरको आरोहण गएन गएको १४ जनाको रूसी टोली निकै उत्साहित थियो।

अलेक्जेन्डर दुसेको नेतृत्वको टोलीलाई पर्यटन विभागले भदौ १९ गते धौलागिरि-१ हिमाल आरोहणका लागि अनुमति दिएको थियो। विभागले रूसकै प्रख्यात आरोहीहरूको टोली भनेर यस समूहलाई अनुमति दिएको छ।

टोलीको पर्वतारोहण व्यवस्थापन आईएम ट्रेकिङ एन्ड एक्पिडिसन नामक एजेन्सीले गरेको थियो। ८ हजार १ सय ६७ मिटर उचाइ रहेको यो हिमाल चढ्नका लागि आरोहण दललाई दुई समूहमा विभाजन गरी योजना अघि बढाइएको थियो।

तर, यीमध्ये ६ जनाले स्वास्थ्यको कारण जनाउँदै पहिले नै आरोहण परित्याग गरेका थिए। आरोहण व्यवस्थापन गर्ने एजेन्सी र सम्पर्क अधिकृतबाट विभागले संकलन गरेको जानकारीअनुसार, २ जनाले भने आरोहण सम्पन्न गरी बेसक्याम्पमा आई आराम गर्दै छन्। उनीहरू अहिले सकुशल छन् र एक–दुई दिनमा बेसक्याम्पबाट तल झर्ने योजना छ।

धौलागिरि आधार शिविरमा हिउँले पुरिँदै गरेको पाल

बाँकी ६ जना असोज २० गते आरोहणतर्फ गएका थिए। तीमध्ये पनि एक जना स्वास्थ्यकै कारण बीच बाटोबाटै तल झरे। भलेरी स्पालेइभोई नामका ती आरोहीले केही समयपछि माथि रहेका अरू ५ जनालाई पनि तल फर्कन अनुरोध गरेको पाइएको छ।

विभागका अधिकारीका अनुसार, ८ हजार मिटर उचाइको नजिक पुगिसकेकाले ती पाँच जनाले शिखर पुग्ने योजना तत्काल नछाडेको पाइएको छ। तर केही समयपछि भने रेडियो सेटमा सबै जनाले आरोहण परित्याग गरी तल झर्दै गरेको बताएका थिए। विडम्बना, असोज २० गतेकै राति ११ बजेबाट उनीहरू सम्पर्कविहीन भए।

असोज २१ गते सम्पर्क अधिकृत र एजेन्सीले ५ जना आरोही हराइरहेको जानकारी पर्यटन विभागमा गरेको देखिन्छ। विभागले तत्कालै हेलिकोप्टर पठाउन खोजे पनि त्यस दिन धौलागिरि क्षेत्रको मौसमी प्रतिकूलताका कारण उद्धार उडान हुन सकेन। भोलिपल्ट असोज २२ गते बिहानै हेलिकोप्टर उडेर त्यस क्षेत्रमा गयो। हेलिकोप्टरबाट हेर्दा करिब ७ हजार ६०० मिटरको उचाइमा पाँचै जना लडिरहेको देखियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डीएसपी भरत श्रेष्ठका अनुसार, अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र दिमित्री सालिलेभोइको शव भेटिएको छ। 

क्याम्प-१ मा टोलीबाट छुट्टिएका भलेरी स्पालेइभोईलाई उद्धार गरी काठमाडौँमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .