रुपन्देहीमा कोरोना संक्रमित बिरामीको प्लाज्माथेरापी विधिबाट उपचार सुरू भएको छ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा प्लाज्माथेरापीबाट उपचार सुरु गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
डा. थापाका अनुसार कोरोना संक्रमित भई निको भएका व्यक्तिको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्माथेरापी भनिन्छ।
‘प्लाज्माथेरापीले संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। जसले गर्दा बिरामीले रोगलाई परास्त गर्नुका साथै छिटो निको हुनसक्छ’, डा.थापाले भने।
सोमबार कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्माथेरापी गरिएको हो। ‘हामीले आजबाट यो सेवा सुरू गर्यौं। आवश्यकताका आधारमा यो विधिलाई निरन्तर दिन्छौं’, डा. थापाले भने।
जटिल संक्रमित बिरामीका लागि प्लाज्माथेरापी प्रयोग गर्न सकिन्छ। अंग प्रत्यारोपण गरी औषधि खाइरहेका, क्यान्सर, दमलगायत रोगका बिरामीसँग रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्माथेरापीको प्रयोग गर्न सकिन्छ।
यहाँ कोरोना विशेष अस्पतालमा १६ जना संक्रमित आईसीयूमा उपचाररत छन्। यस्तै २३ जनाको आइसोलेसनमा उपचार जारी छ। प्लाज्माथेरापीका लागि लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले रगत दिएका थिए।
प्रतिक्रिया